म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङ स्थित हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिलाई स्वस्थ रहन समेत सहयोग पुग्ने भएकाले विद्यार्थीहरुले अध्ययन संगै खेलक्षेत्रमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा मध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगितामा छात्र÷छात्रा भलिबल , एथलेटिक्स र उफ्रने र फ्याक्ने फिल्ड विद्याका २३ वटा इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो ।कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेल, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक खत्री लगायतले धौलागिरि गाउँपालिकामा खेल क्षेत्रमा नयाँ खेलाडीहरुको उत्पादन हुने क्रम बढ्दो रहेको र यस प्रतियोगिताले विद्यालय स्तरमा लुकेका खेल प्रतिभाको पहिचानमा सहयोग पुग्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, हेम माविका प्रअ शेरबहादुर केसीको स्वागत र नगेन्द्र मल्लको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गर्नुभएको थियो ।