बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सम्पन्न भएको छ । विहिबारदेखि सुरु भएको सभामा म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
गण्डकी प्रदेश र संघीय सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेश गर्न जिल्लाका योजनाहरुलाई गौरबको योजनाका रुपमा मुख्य प्राथमिकतामा राखी बजेट विनियोजनको व्यवस्था मिलाउन समेत संघ र प्रदेश सरकारलाई राजनीतिक दल र जनप्रतिनिधिहरुले अनुरोध गरेका छन् ।जिल्ला सभामा सहभागि राजनीतिक दल,जिल्लाबाट निर्वाचित भएका प्रतिनिधिसभा एवम् प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले सामुहिक रुपमा जिल्लाको विकास योजनालाई प्राथामिकरण गरेर २७ वटा साझा योजनाहरु तय गर्दै सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन ।
संघ र प्रदेश सरकारसँग बजेट माग गर्दा प्राथामिकरण गरेका साझा योजनालाई आधार मानेर माग गर्नुपर्ने जिल्ला सभाबाट निर्णय समेत गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । ‘‘संघ र प्रदेशमा सरकार फेरबदल भइरहने अवस्थाका कारण जिल्लाको विकास निर्माणमा असर नपरोस भनेर राजनीतिक दल र जनप्रतिनिधिहरुले गौरबका योजना छनौंट गरेर सामूहिक प्रतिवद्धता व्यक्त गरिएको हो,’उहाँले भन्नुभयो ।
जिल्लाको रणनैतिक महत्वका एघार वटा सडक योजना,पर्यटन प्रवद्र्धनका नौ वटा,सडक पुलका ४ वटा,खानेपानीका २ वटा र खेलकुद क्षेत्रको विकासका लागि एक वटालाई साझा योजनाका रुपमा तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख थापाले जानकारी दिनुभयो ।उहाँले थप्नुभयो , ‘‘जिल्ला सभा मार्फत हामीहरुले म्याग्दीको विकासका लागि योजनाहरुको प्राथामिकरण गरेका छौं । प्रदेश र संघ सरकारसँग साझा योजनालाई आधार मानेर बजेट विनियोजन गर्न पहल गर्दछौं ।’’
बेनी–दरबाङ–ताकम–मुना जलजला ढोरपाटन सडक,बेनी–पाखापानी–ठाडाखानी–कुइनेमंगले सडक,महाभिर –दोसल्ले–रिम–राम्चे–नांगी सडक र दरबाङ–अधिभारा–डाँडागाउँ–लाममेला–बुर्तिबाङ सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न पहल गर्ने जिल्ला सभाले निर्णय समेत गरेको छ ।यस्तै गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा चिमखोला घ्यासीखर्क सडक,बेनी–दरबाङ–मुना–लुलाङ–गुर्जा हुँदै डोल्पा जोड्ने सडक,बावियाचौर–पोक–गहते नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी पोखेर–पिङ्गे–आर्वाङ–भित्रीवन–झाक्रीपानी–किमचौर हुँदै ताराखोला जोड्ने सडक,पिप्ले–भगवती–बेग सडक र सिम–कोत्राबाङ–खुम्ल्याहा–पैयुपाटा–कुँहुँ–पूर्णगाउँ–टोड्के सडक र नाँगी–हिस्तान –घराम्दी –खिवाङ्–घोडेपानी–चित्रे –स्वात–पाउद्धार –नारच्याङ हुँदै मुस्ताङको घाँस जोड्ने बैकल्पिक सडकलाई प्राथमिकतामा राखेको जिससले जनाएको छ ।
याे पनि…
बेनीको खुल्ला मञ्चलाई व्यवस्थित बनाउने,कालिगण्डकी बैंसरी सडक मोटरेबल पुल,मंगलाघाट–बगरफाँट मोटरेबल पुल,कालाबाङ मोटरेबल पुल र सिंगा–आखेबगर मोटरेबल पुल निर्माणलाई साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ । भगवती पिप्ले बृहत खानेपानी योजना र मंगलाको रणबाङ खानेपानी योजनालाई समाबेश गरिएको छ ।बेनीमा निर्माणधिन रावणपार्क,अन्नपूर्ण आधार शिविरमा पूर्वाधार निर्माण,सोलेडाँडा पर्यटन पूर्वाधार निर्माण,धौलागिरी आइसफल पदमार्ग,धौलागिरी सन्चुरी पदमार्ग,सिमलचौर–लामोछहरा–टोड्के–पर्यटन पूर्वाधार,गुरिल्ला पदमार्ग,बेनी शान्ति पार्क,म्याग्दी र कालीगण्डकी नदीमा बेदबार निर्माण गरेर तलाउ बनाउने योजना समाबेश गरिएको छ ।
याे पनि…
वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु (तस्बिर/भिडिओ)
जिल्लाको विकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरुको साझा प्रतिवद्धताले प्रदेश र संघ सरकारसँग बजेट माग गर्न सहज हुने गण्डकी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।प्रदेश सभा सदस्य विमला गौचनले जिल्लाको विकासका लागि गौरबका योजनाहरु छनौंट गरी सामूहिक प्रतिबद्धताले जिल्लाको विकासको खाका कोर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
दुईदिन सम्म संचालन भएको जिल्ला सभामा जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण गरेका थिए ।शुक्रबार सम्पन्न भएको जिल्ला सभामा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, संघीय र प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख,उपप्रमुख,विभिन्न विषयगत कार्यालयका प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला सभाको उद्घाटन बिहिबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभएको थियो ।