म्याग्दी। म्याग्दीको मुख्य बेनी–दरबाङ सडक अन्तर्गत फापरखेत पहिरोमा बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । पहिरोका कारण १० दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोमा बैकल्पिक सडक स्तरोन्नती र म्याग्दी नदीमा बेलिब्रिज निर्माणको लागि तत्काल आवश्यक समन्वय र पहल गरिदिन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बीर’ले शनिबार गृहमन्त्री लेखकलाई भेटेर आग्रह गर्नुभएको हो ।
म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिइएको सडकखण्डको सबैभन्दा संवेदनशील र पहिरोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै सांसद गर्बुजाले छोटो दुरीमा बैकल्पिक सडक तथा बेलिब्रिजको माग गर्नुभएको थियो । ‘‘म्याग्दीमा बिपद्ले सधैं सताउने गरेको छ । मुख्य सडकमा देखिएको समस्या समाधानका लागि गृह मन्त्रालयबाटै सक्रियता आवश्यक छ’’,सांसद गर्बुजाले भन्नुभयो ।
फापरखेतको समस्या समाधानका लागि मङ्गला गाउँपालिका–३,पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणसँगै बरङ्जा हुँदै बावियाचौर जोड्ने सडकखण्डको समेत मर्मत तथा थप व्यवस्थित बनाउनुपर्ने सांसद गर्बुजाको भनाइ छ ।
उक्त विषयमा बैकल्पिक र सुरक्षित मार्गका लागि पहिरो खस्ने आसपासमा डिजाइन परिवर्तनका लागि समेत सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभएको छ । बेनी–दरबाङ, बेनी–जोमसोमसँगै राहुघाट क्षेत्रको सडकखण्डका समस्या, बिपद्बाट विस्थापितलाई राहतमा प्राथमिकता दिन समेत गृहमन्त्री लेखकलाई सांसद गर्बुजाले अनुरोध गर्नुभएको थियो ।
गत बिहीबार रातिदेखि अवरुद्ध बेनी–दरबाङ सडक सिधा यातायात सेवा संचालन हुन नसक्दा पश्चिम म्याग्दीका जनताले सास्ती भोग्न वाध्य भएका छन् । पहिरोका कारण सिधा यातायात संचालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौं यात्रुहरु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुङ्गे पुल तरेर सिमलचौर निस्केपछि अर्को गाडी चडेर गन्तव्यमा जाने गरेका छन् ।