छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ । मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदकसहित महेन्द्र मावि प्रथम भएको हो ।

प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित २० पदक जित्दै मंगला मावि बाबियाचौर द्वितीय भएको छ। ५ स्वर्ण, २ रजत र ५ काँस्य कास्यसहित १२ पदक जितेर शिशु कल्याण मावि तृतीय भएको मंगला गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । त्यसैगरी प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र २ काँस्य सहित १० पदक जितेर डनिङ आवासीय मावि चौथो भएको छ ।

प्रतियोगितामा मार्चपास सर्वोकृष्ट मंगला माध्यमिक विद्यालय प्रथम, एथलेटिक्सतर्फ ३ स्वर्ण, १ रजत सहित महेन्द्र रत्न माविका छात्र विबेक नेपाली र एथलेटिक्स तर्फ ३ स्वर्ण १ रजत सहित महेन्द्र रत्न मावीका विवेक नेपाली र ३ स्वर्ण बिजेता शिशु कल्याणकी थमसरा रोका, छात्र भलिबलतर्फ शिशु कल्याणका हेमन्त बुढाथोकी, छात्रतर्फ मंगला माविकी एन्जिला किसान,कबड्डीतर्फ छात्रामा मंगला माविकी बिना सापकोटा र छात्रतर्फ महेन्द्ररत्न माविका बिकल बुढा उत्कृष्ट खेलाडी घोषित गरी ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

 

प्रतियोगितामा विजेता विद्यालयलाई ५० हजार रुपैयाँको साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

 

प्रतियोगितामा डनिङ आमावी बावियाचौरले ३ स्वर्ण, ५ रजत २ कास्य,दिपशिखा माविले २ स्वर्ण, ४ रजत, ४ काँस्य, शारदा मावि छिस्बाङले २ स्वर्ण, ३ रजत, ६ काँस्य, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँले १ स्वर्ण, १ रजत, त्रिभुवन मंगला मावि २ रजत, काँस्य र शिद्धशान्ति माविले २ काँस्य पदक जितेको छ। विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष दिलकुमारी खत्री, वडा नं २ का अध्यक्ष धनबहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मंगला गाउँपालिकाका ९ वटा विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा छात्र, छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार