म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी माया सुवेदी आजभोली बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् । गत वर्ष डढेलो कारण करिब बीस क्विन्टल आलु फलाउनुभएका मायाले यस वर्ष भने बढेर करिब तीस क्विन्टल उत्पादन हुने बताउनुहुन्छ । मायाले एक सिजनमा आलु बिक्रीबाट एक लाख साठी हजार रुपियाँ र अन्य तरकारी खेतीबाट तीस देखि चालिस हजार गरी वार्षिक करिब दुई लाख रुपियाँ आम्दानी गर्ने गरिएको सुनाउनुभयो ।
भिडिओ हेर्नुस् …

उहाँ लगायत पात्लेखेत गाउँका २४ जना किसान मिलेर समुह नै गठन गरेर विगत ६ वर्षदेखि बेमौसी एमएस–४२ निलो जातको व्यवसायिक आलु खेती गर्दै आइरहेका छन् ।करिब १५ वर्षदेखि बेमौसमी जातका आलु उत्पादन हुँदै आएको पात्लेखेतमा ६ वर्ष अघि पर्वतीय आलु तथा ताजा तरकारी उत्पादक कृषक समुह गठन गरेर व्यवसायीक आलु खेती गर्दै आइरहेको छ ।समुहमा आवद्ध नभएका गाउँका अन्य किसान समेत व्यावसायीक आलु खेतीबाट राम्रो आम्दानी गर्दै आइरहेको कृषक समुह अध्यक्ष गोकुल शर्माले बताउनुभयो । यस वर्ष बर्षा ढिलो हुँदा असोज पहिलो साता रोपेको बेमौसमी आलुलाई किसानले मङिसर अन्तिम सातादेखि खन्न थालेका छन् ।

करिब तीन क्विन्टल आलु रोप्नुभएका अर्का सरोज गर्बुजाले एउटै बोटमा एक केजी बढी आलु उत्पादन हुने बताउनुहुन्छ । खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । आफ्नो बारीमा करिब तीस क्विन्टल उत्पादन हुने अपेक्षा गर्नुभएका सरोजले सिंचाइ अभावले आलु खेतीमा समस्या हुने गरेको बताउनुभयो । चार रोपनी बढी क्षेत्रफलमा फैलिएको बारीमा तीस क्विन्टल आलु उत्पादन गर्दै आउनुभएका कृषक समुह अध्यक्ष शर्माले सिजनमा डेढ लाख रुपियाँ आम्दानी हुने बताउनुभयो । गाउँको आलु बेनी बजारमा पु¥याउँदा प्रति केजी ७० रुपियाँका दरले भने बारीबाट प्रति पाथी दुई सय रुपियाँका दरले बिक्री हुँदै आएको छ ।उहाँले भन्नुभयो ,‘‘गत वर्ष आलुमा लागेको डढेलो कारण सोचे जस्तो राम्रो उत्पादन हुन सकेन । यस वर्ष भने उत्पादन बढ्ने अपेक्षा गरेका छौं । माग बढी भएकोले आलु उत्पादन पछि बजारको समस्या छैन ।’’

पात्लेखेतका किसानले एक सिजनमा तीस देखि चालीस क्विन्टल सम्म आलु उत्पादन गर्दै आइरहेका छन् । करिब ९० रोपनी क्षेत्रफलमा बेमौसमी व्यवसायीक आलु खेती हुँदै आएको पात्लेखेतबाट गत वर्ष एक हजार पाँच सय क्विन्टल आलु उत्पादन भएकोमा यस वर्ष बढेर दुई हजार क्विन्टल बढी उत्पादन हुने अपेक्षा गरिएको समुह अध्यक्ष शर्माले बताउनुभयो । नगरपालिकाले यसअघि आलु पकेट क्षेत्र घोषणा गरेर सुरुवाती दुई वर्षसम्म अनुदान र प्रविधि सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र म्याग्दीले मागका आधारमा प्रोत्साहनका कार्यक्रम सन्चालन गरेको अध्यक्ष शर्माको भनाइ छ । परम्परागत कोदो मकै बाली लगाउने बारीमा व्यवसायीक बेमौसमी आलु उत्पादन हुन थालेपछि पात्लेखेतबासीको आर्थिक उपार्जनमा समेत ठुलो टेवा पुगेको छ ।



























