छोराको जन्मदिनमा वृद्धवृद्धालाइ मिष्ठान्न भोजन

  धनिलाल गर्बुजा

गलेश्वर । जन्मदिन मनाउने नाममा फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएको बेला म्याग्दीका एक परिवारले भने आफ्नो छोराको जन्मदिनमा वृद्धवृद्धाहरुलाई भोजन दान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थायी घर भई हाल पोखरा लामाचौर बस्दै आएका सामाजिक व्यक्तित्व खड् कुमार तिलिजाले आफ्नो छोरा सागर तिलिजाको १३औं जन्मत्सवको अवसर पारेर बेनी नगरपालिका–९, स्थित गलेश्वर जेष्ठनागरिक आश्रममा आश्रय लिई रहेका बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन खुवाएर जन्मदिन मनाउनुभएको हो ।

शनिबार गलेश्वर अन्न क्षेत्रमा पुगेर ज्येष्ठनागरिक आश्रमका वृद्धवृद्धाहरुको आशिर्वाद लिँदै उनीहरुलाई रु.३५ हजार बराबरको खिर, दही, तरकारी, अचारको सामुहिक भोजन गराएको सहयोगदाता खड् कुमार तिलिजाले बताउनुभयो । यसअघि तिलिजा परिवारले गलेश्वर शिवालय मन्दिरमा पुगेर पुजाअर्चना गरी दर्शन गरेका थिए ।

आश्रममा रहेका ज्येष्ठनागरिकसहित आश्रमका कर्मचारी तथा कालीगण्डकी वेदविद्याश्रम गलेश्वरका विद्यार्थी लगायत ६५ जनालाई फलफुल, नगद दक्षिणा समेत प्रदान गर्नु भएको पुलस्त्य पुलह अन्न क्षेत्रका कार्यलय सचिव माधव प्रसाद रिजालले बताउनुभयो । सन्तानबाट तिरस्कृत भएका बेसाहरा बृद्धबृद्धालाई सहयोग गर्नुभएकोमा कार्यलय सचिव रिजालले धन्यवाद व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका–१९, स्थित लामाचौरमा आल्मुनियम उधोग सञ्चालन गर्दै आउनुभएका युवा व्यवसायी तिलिजा मगरले यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जन्म दिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सेवा सद्भावमा खर्च गर्नसके पुण्य प्राप्त हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार