म्याग्दी । म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीब्र पारिएको छ । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य सहितको सुरक्षा निकायको टोलीले बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकामा रहेका मतदान स्थलको अवस्था र सुरक्षा योजना निर्माणका लागि निरिक्षण गरेको हो । जिल्ला सुरक्षा समिति म्याग्दीले जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदानस्थलको निरीक्षण सुरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
प्रजिअ आर्चाय सहितको टोलीले पुस १० गते भानु मावि, रामचन्द्र मावि,अर्जुन मावि, पुस १२ गते जनकल्याण मावि, जामुनाखर्क मावि, राष्ट्रि«य मावि, गलेश्वर मावि, पुस १४ गते भगवती आधारभुत विद्यालय, मंगला मावि, किसानी मावि, जनप्रिय माविको स्थलगत निरीक्षण गरिएको थियो । सहायक प्रजिअ आचार्यका अनुसार, मतदानस्थल निरीक्षण सँगै स्थानीय जनप्रतिनिधिसँग समेत बस्तुस्थितीका बारेमा जानकारी गराइएको छ ।
निरीक्षण टोलीमा प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा,गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका गुल्मपति रामभोला खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विजय पौडेल,सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीका प्रहरी नायव उपरीक्षक लिलाबहादुर भूजेल, निर्वाचन अधिकृत बिमलप्रसाद गौतम लगायतको सहभागिता थियो । निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको प्रजिअ आर्चायको भनाइ छ । म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल रहेका छन ।


























