
म्याग्दी, ७ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको चुनावी अभियान पाँचौँ दिनमा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार धौलागिरी गाउँपालिका का विभिन्न वडाहरूमा व्यापक चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
धौलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम, मालिका गाउँपालिकाको वडा नम्बर ५ बेविस्थान र वडा नम्बर ४ चिउरीबोटका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग साक्षात्कार गर्दै आफ्ना नीति, योजना र विकासका प्राथमिकताबारे जानकारी गराएको हो ।

चिउरीबोटमा आयोजित प्रमुख चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति तथा निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले पार्टीका उम्मेदवार केबी भण्डारी लाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । नेपाली कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्रीसमेत रहनुभएका गर्बुजाले आफ्नो छोटो कार्यकालमा म्याग्दीमा अर्बौँ रुपैयाँ बराबरको बजेट भित्र्याउन सफल भएको दाबी गर्नुभयो । ती बजेटमार्फत सुरु गरिएका योजनाहरूको दिगो र प्रभावकारी कार्यान्वयनका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको उहाँको तर्क थियो ।

उहाँले देशमा राजनीतिक स्थायित्व, सुशासनको प्रत्याभूति तथा अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिन अनुभवी र प्रतिबद्ध नेतृत्वको खाँचो रहेको उल्लेख गर्नुभयो । “हामीले सुरु गरेका विकासका कामलाई बीचमै रोकिन दिनु हुँदैन, त्यसका लागि सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार केबी भण्डारीले म्याग्दीको समग्र विकासमा आफू लामो समयदेखि निरन्तर खटिएको बताउँदै आगामी निर्वाचनमा भारी मतले विजयी गराउन आग्रह गर्नुभयो । उहाँले म्याग्दीलाई आर्थिक रूपमा समृद्ध बनाउन जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, खानी तथा तातोपानी कुण्डजस्ता उत्पादनमूलक क्षेत्रहरूमा पूर्वाधार विकासलाई व्यवस्थित गर्ने योजना सार्वजनिक गर्नुभयो । ती क्षेत्रमा ठूलो लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने आफ्नो स्पष्ट कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

कांग्रेसकै पहलमा जिल्लामा भित्रिएका विभिन्न विकास योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले खानी उत्खननमा देखिएका नीतिगत तथा कानुनी जटिलताका कारण म्याग्दीले अपेक्षित प्रत्यक्ष लाभ लिन नसकेको बताउनुभयो । आफू निर्वाचित भएपछि ती अवरोधहरू हटाउन संसद र सम्बन्धित निकायमा विशेष पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कानुनका विद्यार्थीसमेत रहनुभएका उम्मेदवार भण्डारीले सांसदको भूमिका केवल विधेयक निर्माणमा सीमित नभई संसदमा जनताको आवाज सशक्त रूपमा उठाउने, विकासका लागि आवश्यक बजेट सुनिश्चित गर्ने र नीतिगत सुधारका लागि पहल गर्ने रहेको स्पष्ट पार्नुभयो । “कांग्रेसले सुरु गरेका योजनालाई निरन्तरता दिन र नयाँ सम्भावनालाई साकार पार्न अबको निर्वाचन निर्णायक हुनेछ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय तहसम्म संगठन सुदृढ बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका साथ कांग्रेस म्याग्दीले दोस्रो चरणको अभियानलाई अझ तीव्र बनाएको जनाएको छ ।





















































