
म्याग्दी, १२ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले निवासी २६ वर्षीय पष्पित परिवार भारतबाट नेपाल फर्कने क्रममा बीच बाटोबाट सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि भारत गएका उनी केही दिनअघि नेपाल फर्किन हिँडेका थिए तर घर आइपुग्नुअघि नै सम्पर्क टुटेको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारका अनुसार पष्पित भारतको मन्दाराश क्षेत्रमा श्रम गर्दै आएका थिए । नेपाल फर्कने क्रममा प्रारम्भिक चरणमा परिवारसँग सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेका छन् । हालसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारजनले आफन्त, साथीभाइ तथा चिनजानका व्यक्तिमार्फत खोजतलास गरिरहेका छन् । साथै सम्बन्धित सुरक्षा निकायलाई समेत जानकारी गराइसकिएको र खोजी कार्यलाई तीव्र बनाउन अनुरोध गरिएको छ । उनी घर फर्कने क्रममा कुन स्थानसम्म पुगेका थिए भन्नेबारे स्पष्ट विवरण खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गर्दै कसैले पष्पित परिवारको बारेमा कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई मोबाइल नम्बर ९८६३०४४७५० मा जानकारी गरिदिन अनुरोध गरेका छन् । सम्बन्धित निकायले घटनाबारे जानकारी लिएर खोजी कार्य अगाडि बढाइरहेको जनाएको छ ।


















































