म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीमा शुक्रबार आयोजित निर्वाचन र आमसञ्चार विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनसँग सम्बन्धित प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिइएको हो ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा ले जिल्लामा सरल, सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन कार्यक्रम अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन आचारसंहिताको छिटपुट उल्लङ्घनसम्बन्धी उजुरीहरू प्राप्त भए पनि सम्बन्धित पक्षलाई सचेत गराई समाधान गरिएको छ । “निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार र सजग देखिएका छन्,” उहाँले भन्नुभयो ।

 

जिल्लामा रहेका १२२ वटै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको छनोट प्रक्रिया पूरा भइसकेको र नियुक्तिपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १८ गतेभित्र सबै मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसक्ने गरी खटनपटनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् ।

निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा एकीकृत सुरक्षा रणनीति लागू गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य ले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन दर्तादेखि निर्वाचन प्रचार–प्रसार, मौन अवधि, मतदान, मतगणना तथा विजयी उत्सवसम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लास्थित सुरक्षा निकायहरूबीच आवश्यक समन्वय र सहकार्य सुदृढ बनाइएको छ । मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, जिल्ला निर्वाचन अधिकारी बिमल प्रसाद गौतम ले निर्वाचनका लागि आवश्यक मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री जिल्ला आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सामग्री मतदान केन्द्रअनुसार छुट्टाछुट्टै वर्गीकरण गरी सुरक्षित तवरले व्यवस्थापन गरिएको छ, जसले वितरण तथा प्रयोग प्रक्रियालाई सहज बनाउनेछ ।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १ जना स्वतन्त्र उम्मेदवारसहित कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८६ हजार ३९७ जना मतदाता कायम गरिएको छ ।

निर्वाचन आयोगले मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा सुनिश्चित गरी मतदानमा सहभागी हुन आह्वान गरेको छ । सरोकारवाला निकायहरूले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आचारसंहिता पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार