बेनीबजारमा महावीर पुनका समर्थकद्वारा सरसफाइ अभियान

म्याग्दी, १७ फागुन । यही फागुन २१ गते सम्पन्न हुनेप्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका महावीर पुनका समर्थकहरूले सदरमुकाम बेनीबजारमा सरसफाइ अभियान सम्पन्न गरेका छन् । चुनावी घरदैलो कार्यक्रमलाई श्रमदान र सचेतनामूलक गतिविधिसँग जोड्दै आइतबार बजार क्षेत्रमा सरसफाइ गरिएको हो ।

समर्थकहरूले बेनी नगरपालिका–७ को बिरेन्द्रचोकबाट अभियान सुरु गर्दै वडा नं. ८ अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका सडक, पेटी तथा सार्वजनिक स्थानहरू सफा गरेका थिए । अभियानका क्रममा “एक भोट त्रिभुजलाई, बाँकी सबै अरूलाई”, “भ्रष्टाचारविरुद्ध सरसफाइ अभियान”, “कुशासनको अन्त्य” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । सरसफाइ अभियानमार्फत भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र बेथितिविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखिएको समर्थकहरूले बताएका छन् ।

महावीर पुन चुनाव प्रचारप्रसार समितिका संयोजक योगकुमार फगामीका अनुसार घरदैलो अभियानसँगै मतदातालाई उम्मेदवारको भिजन र कार्यशैलीबारे जानकारी गराउन सरसफाइ कार्यक्रम गरिएको हो । “श्रमको सम्मान गर्ने, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिने उम्मेदवारका रूपमा उहाँलाई चिनाउन बजार क्षेत्रमा उदाहरणीय काम गरिएको हो,” फगामीले भन्नुभयो।

बेनीबजारमा घरदैलो अभियान सम्पन्न भइसकेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको प्रचारप्रसार समितिले जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो भिजन, विकासका योजना र विगतका कामका आधारमा सहयोग गर्न उम्मेदवार पुनले मतदातासँग आग्रह गर्नुभएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार