
बेनी । आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकाले नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले अन्तिम चुनावी सभा रघुगंगा गाउँपालिकाका विभिन्न बस्ती हुदै बेनी नगरपालिका वडा नं १० पात्लेखेत, वाखेतमा केन्द्रित गर्नुभयो ।विहानै मतदाताको घरदैलोमा भेटघाट सहित रघुगंगा गापाको वडा नं ५, झिँ, वडा नं ६ पाखापानी लगायतका बस्तीमा पुगेर फर्किनुभएका उम्मेदवार भण्डारी मतदाताबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित हुनुहुन्छ । आगामी बिहिबार अर्थात फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सोमबार राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने भएपछि ग्रामिण क्षेत्रबाट झरेर बजार क्षेत्रमा समेत भेटघाट गर्ने उम्मेदवार भण्डारीको योजना छ ।

भण्डारीले यसपटक रघुगंगा गाउँपालिकाको वडा नं २ र ३ को प्रतिनिधित्व गदैं करिब ६ दशकपछी केन्द्रीय संसदमा प्रतिनिधित्वको अवसर खोज्नुभएको छ । रघुगंगा गापा–२, राखु भगवती निवासी भण्डारीले आफ्नो भूगोलबाट प्राप्त सहयोगले ६ दशकयताकै पहिलो प्रतिनिधि बन्ने दावी गर्नुभएको छ ।वि.स. २०२४ मा राखु मौवाफाँटका खडानन्द सुवेदीले राष्ट्रिय पन्चायत सदस्य जित्दा राखु क्षेत्र मुस्ताङ जिल्लामा समावेश थियो । वि।स। २०३२ सालमा भएको प्रशासनिक हेरफेरमा राखुका ४ गाउँ पञ्चायत सहित १२ वटा गाउँ पञ्चायतलाई म्याग्दी जिल्लामा गाभिएपछि वि।स।२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा अञ्चलाधिस समेत रहनुभएका राखुका नन्दबहादुर मल्ल उम्मेदवार बनेपनि भिमप्रसाद गौचनसंग पराजित हुनुभएको थियो ।
जिल्लाको राजनीतिक रुपमा ठूलो योगदान दिएको राखुबाट बर्षौपछि संघीय प्रतिनिधिको अवसरले कांग्रेसको भगवतिमा आयोजित आमसभामै स्थानीय समाजसेवी ८५ बर्षिय पूर्व प्रधानपञ्च देबेन्द्रबहादुर मल्लले मन्तब्यमार्फत खुसी ब्यक्त गर्नुभएको थियो । वि।स। २०३८ मा आम निर्वाचनमा राखुका नन्दबहादुर मल्ल र शिखका हरिबहादुर पुनलाई पराजीत गर्दै पाखापानीका भिमप्रसाद गौचनले जित्नुभएकोमा बि।स२०४३ मा बेनीका भुपेन्द्र खड्का र शिखका हरि बहादुर पुनलाई पराजीत गर्दै गौचन पुन राष्ट्रिय पञ्चायत सदस्य बन्न सफल हुनुभएको थियो ।
‘मैले ६ दशक अगाडीको इतिहासलाई फर्काउने छु,जिल्लाबासीका सबै समस्या समाधान गरेरै छोड्नुछ‘ भण्डारीले भन्नुभयो । म्याग्दी जिल्लामा निर्वतमान प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले छोडेका अपुरा योजनालाई पुर्णतासहित बजेट विनियोजनमा प्राथमिकता दिने गरी काम गर्ने उम्मेदवार भण्डारीको भनाई छ ।


















































