डेढ महिनाअघि हराएका गुर्जाका वृद्ध पूर्ण छन्त्याल मृत अवस्थामा फेला

  धनिलाल गर्बुजा

बेनी, १६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट डेढ महिनाअघि हराएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । हराइरहेका ७६ वर्षीय पूर्ण छन्त्यालको शव शनिबार धवलागिरी गाउँपालिका–३ मुनामा भेटिएको हो ।

गत वैशाख ३ गते घरबाट हराएका छन्त्यालको शव करिब डेढ महिनापछि मुनास्थित पार्वती आमा समूह सामुदायिक वन क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडेको अवस्थामा भेटिएको शवलाई उनले लगाएको कपडा र अन्य विवरणका आधारमा परिवारका सदस्यहरूले सनाखत गरेपछि उनिहरुको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी प्रहरीलाई गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सीनाको नेतृत्वमा टोली तथा ताकम प्रहरी चौकीको प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाएको जनाएको छ ।

मृतकका छोरी तुलसी छन्त्याल र भतिजा बालसिङ छन्त्यालले शव सनाखत गरेपछि अन्त्येष्टिका लागि गुर्जा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार