७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता

  म्याग्दी न्यूज संवाददाता

बेनी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले जीवनको उत्तरार्धमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । एकल महिला तथा शारीरिक रूपमा अपाङ्ग राममायाँलाई जिल्ला प्रशासन कार्यालयमा अन्य सेवाग्राहीसरह लामो लाइनमा नराखी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै राखेर नागरिकता प्रदान गरिएको हो ।

विसं २०१३ सालमा जन्मिनुभएकी राममायाँसँग अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट प्राप्त हुने विभिन्न सेवासुविधाबाट वञ्चित रहनुभएको थियो । गाउँमा आफ्ना उमेरका साथीहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेको देखेपछि उहाँले घरपरिवारसँग नागरिकता बनाइदिन आग्रह गर्दै आउनुभएको थियो । उहाँका कान्छा भाइ गर्भे खत्रीले आवश्यक कागजात संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा भएको हो । मंगलबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य ले राममायाँलाई नागरिकता हस्तान्तरण गर्नुभएको थियो ।

नागरिकता प्राप्त गरेपछि खुसी व्यक्त गर्दै राममायाँले अब वृद्धभत्ता प्राप्त हुने भएकाले औषधी उपचार तथा दैनिक जीवनयापनमा केही सहजता हुने बताउनुभयो । “नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइन्छ,” उहाँले भन्नुभयो । नागरिकतासँगै राष्ट्रिय परिचयपत्रसमेत बनाइएपछि आफ्नो जिम्मेवारी पूरा भएको अनुभव भएको राममायाँका भाइ गर्भे खत्रीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले जीवनको उत्तरार्धमा पुगेकी नागरिकलाई नागरिकता हस्तान्तरण गर्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताउँदै राज्यका सेवासुविधाबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार