
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका छन् । बिहीबार मध्याह्नतिर ब्रोड पिक क्षेत्रमा हिमपहिरो गएपछि टोलीसँग सम्पर्क टुटेको बीबीसीले जनाएको छ ।
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले हिमपहिरोपछि टोलीसँग कुनै सम्पर्क हुन नसकेको पुष्टि गरेका छन् । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा ६ जना नेपालीसहित विभिन्न देशका आरोही सहभागी रहेका छन् । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।
पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग समन्वय गरेर तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । क्लबले हेलिकोप्टरसहित उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न पहल भइरहेको उल्लेख गर्दै सम्पर्कविहीन सबै आरोहीहरूको सकुशल उद्धारको कामना गरेको छ ।
ब्रोड पिकलाई पर्वतारोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीपूर्ण हिमाल मानिन्छ । विश्वको १२औँ अग्लो यो हिमालमा प्राविधिक कठिनाइ, प्रतिकूल मौसम र हिमपहिरोको उच्च जोखिमका कारण आरोहीहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
उक्त समूहको नेतृत्व गरेका पुर्जा सन् २०१९ मा छ महिनाभन्दा केही बढी अवधिमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरेर विश्वभर चर्चित बनेका थिए ।





































