दिवंगत निर्मल पुर्जाको एआई नक्कली तस्बिर भाइरल

एआईबाट बनाइएको पुष्टि

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सिर्जना गरिएको नक्कली तस्बिर भएको खुलेको छ ।

निर्मल पुर्जा हिमपहिरोमा पुरिएको र उद्धार टोलीले खोजी गरिरहेको दृश्य देखिने उक्त तस्बिर फेसबुक, एक्स (ट्विटर) लगायत विभिन्न सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । धेरै प्रयोगकर्ताले तस्बिरलाई वास्तविक घटनास्थलकै दृश्य ठानेर शेयर गरिरहेका छन् ।

तर हालसम्म निर्मल पुर्जाको पार्थिव शरीरको कुनै आधिकारिक वा प्रमाणित तस्बिर सार्वजनिक भएको छैन । त्यसैले सामाजिक सञ्जालमा फैलिएको उक्त तस्बिर वास्तविक घटनासँग सम्बन्धित नभएको पुष्टि भएको हो ।

प्रविधि विश्लेषणका क्रममा तस्बिरमा एआईद्वारा सिर्जित सामग्रीमा प्रयोग हुने डिजिटल संकेत वाटरमार्क पहिचान भएको जनाइएको छ । यही आधारमा तस्बिर कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट निर्माण गरिएको निष्कर्ष निकालिएको हो । त्यसैले सामाजिक सञ्जालमा फैलिरहेको उक्त तस्बिरलाई वास्तविक ठान्न नहुने विज्ञहरूको सुझाव छ ।

गत बिहीबारदेखि सम्पर्कविहीन भएका ४३ वर्षीय पुर्जासहित आरोहण दलका १० सदस्यको निधन भएको पुष्टि शनिबार उनको आरोहण कम्पनी एलिट एक्सपिडले आधिकारिक रूपमा गरेको थियो। त्यसपछि उनको निधनसँग जोडेर विभिन्न अपुष्ट सामग्री र तस्बिरहरू सामाजिक सञ्जालमा फैलिन थालेका हुन् ।

विशेषज्ञहरूले दुःखद घटनासँग सम्बन्धित विषयमा अपुष्ट वा एआईबाट सिर्जित सामग्री शेयर गर्दा भ्रम फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना र तस्बिरलाई मात्र विश्वास गर्न तथा साझा गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार