म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामबाट करिब ५० वर्षअघि सम्पर्कविहीन हुनुभएका ७० वर्षीय यमबहादुर तिलिजा भारतको मणिपुर राज्यमा भेटिनुभएको छ । लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहनुभएका तिलिजालाई मणिपुरको सेनापति जिल्लास्थित बिन्द्रामाई गाउँबाट करिब पाँच किलोमिटर टाढा घना जंगलभित्र रहेको एउटा छाप्रोमा बसिरहेको अवस्थामा फेला पारिएको हो । तिलिजा दग्नामस्थित कान्छिगाउँका बाबा उतजरसिङ र आमा मनमती तिलिजाका जेठा छोरा हुनुहुन्छ ।

आइजिभी अनलाइन टेलिभिजनका सञ्चालक तथा नेपाली मूलका पत्रकार मनि तामाङले जंगल क्षेत्रमा तिलिजालाई भेट्नुभएको थियो । उहाँसँगै रहेका युट्युब क्रियटर खेम देवानले तिलिजाको अवस्था र भेटको भिडियो आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेपछि दग्नाममा रहेका आफन्त तथा परिवारजनले भिडियो हेरेर उहाँ आफ्नै परिवारका सदस्य भएको पहिचान गरेका हुन् ।
पाँच दशकसम्म परिवारबाट टाढा रहनुभएका तिलिजा जंगलको एकान्तमा सामान्य छाप्रोमा बसिरहेको भिडियो सार्वजनिक भएपछि दग्नामका आफन्त र परिवारजनमा आश्चर्यसँगै खुसी छाएको छ । वर्षौंअघि हराउनुभएका परिवारका सदस्य जीवितै रहेको खबर पाएपछि परिवारमा आशा र भावुकता एकसाथ जागेको छ ।
भिडियो सार्वजनिक भएपछि परिवारले तिलिजालाई भेटेर घर फर्काउने तयारी थालेको आफन्त मोहन तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि आफ्ना प्रियजनसँग पुनर्मिलन हुने आशाले परिवार उत्साहित बनेको छ ।
यद्यपि, तिलिजा पाँच दशकअघि कसरी मणिपुर पुग्नुभयो र उहाँको जीवन यति लामो समयसम्म कहाँ र कसरी बित्यो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन । परिवारसँग पुनर्मिलन भएपछि उहाँको पाँच दशक लामो जीवनयात्राबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ ।
पाँच दशकअघि हराएको मान्छेको खबर मात्र होइन, वर्षौंअघि टुटेको पारिवारिक सम्बन्ध फेरि जोडिने आशा बोकेर आएको त्यो भिडियो अहिले दग्नामको एउटा परिवारका लागि भावुक सम्झना र खुसीको माध्यम बनेको छ ।













