दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अतियमितता ः पाँच जना विरुद्ध मुद्धा दायर

बेनी ,मंगलबार जेठ १३ गते । दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै पाँच जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसाल सहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख शर्मा भुसाल, दुई जना इञ्जिनियर र दुई जना निर्माण ब्यवसायी उपर जनही एक लाख ४५ हजार ९२८ रुपैयाँ बिगो कायम गरि जेठ ८ गते विशेष अदालतमा अनियमितता सम्बन्धी आरोपपत्र दायर गरेको अख्तियारका प्रवत्ता प्रदिपकुमार कोइरालाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । शर्मा विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर गरेकाले सोही ऐनको दफा ११ बमोजिम सजायको माग दावी गरिएको छ ।

निर्माण कार्यको फिल्ड निरीक्षण गरी वास्तविक लागत अनुमान तयार नगरेको र फिल्डमा नभएको कार्य समेत नापी किताबमा चढाई बदनियतपूर्वक बढी भुक्तानी गर्न सिफारिस गर्ने भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङ्गका तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र तत्कालीन इन्जिनियर सुदिप खड्का विरुद्ध पनि मुद्दा दायर भएको छ ।पौडेल केही महिना अघि मात्र सेवा निवृत भएका थिए । पौडेल र खड्का विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर गरेकाले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम सजायको माग दावी गरिएको छ ।

आफूले गर्नुपर्ने काम तेस्रो व्यक्तिलाई दिएको, गर्दै नगरेको कामको भुक्तानी लिएको र मापदण्ड अनुसारको काम नगर्ने शुभकामना निर्माण सेवाको प्रोपाईटर सरिता सुवेदी र अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्मा विरुद्ध पनि मुद्दा दायर भएको छ ।

सुवेदी र शर्मा विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर गरेकाले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम सजायको माग दावी गरिएको छ । अघिल्लो आर्थिक वर्षमा दाना आयुर्वेद स्वास्थ्य केन्द्रको भवन मर्मत र घेराबार पर्खाल लगाउन योजना परेपनि खरिद प्रक्रिया विपरित काम गरिएको थियो । शुभकामना सहित झी र श्रमजीवी निर्माण सेवा गरी ३ वटा निर्माण व्यावसायीसँग कार्यालयले दरभाउपत्र माग गरेको देखाउन खोजेपनि निर्माण व्यावसायीहरूले पेश गरेको निवेदनको मिति तथा उक्त निवेदन कार्यालयमा दर्ता गर्दाको मितिहरूमा केरमेट र सच्चाइएको अनुसन्धानका क्रममा खुलेको थियो ।

                     प्रेस विज्ञप्ति

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालसमेत ५ जनाउपर बिगो रु.१,४५,९२८।६५ कायम गरी अनियमितता सम्बन्धी आरोप–पत्र दायर ।मिति २०७७।०२।०८ गते ।
…………………………………………………………
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रअन्तर्गतको दाना आयुर्वेद औषधालयको कम्पाउ न्डवाल निर्माण मर्मतका क्रममा शुभकामना निर्माण सेवाका प्रोपाईटर सरिता सुवेदी समेतले लागत ईष्टिमेट रकमभन्दा बढी भुक्तानी लिई अनियमितता गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नेपाल सरकारलाई गैरकानूनी हानि नोक्सानी र्पुयाएको भन्ने देहायको आधार कारणसमेतबाट देखिंदा संलग्न देहाय व्यक्तिहरूले गरेको निम्नानुसारको कसुरजन्य कार्यमा देहाय बमोजिमको सजाय मागदाबी लिइएको छ।

(१) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालले कम्पाउण्डवाल निर्माणको लागि शुभकामना निर्माण सेवा, झी निर्माण सेवा र श्रमजीवी निर्माण सेवा गरी ३ वटा निर्माण व्यावसायीसँग दरभाउपत्र माग गरेको कागजपत्रहरू देखाउन खोजेको भएपनि निर्माण व्यावसायीहरूले पेश गरेको निवेदनको मिति तथा उक्त निवेदन कार्यालयमा दर्ता गर्दाको मितिहरूमा केरमेट गरी वदनियतपूर्वक आफूले गरेको गल्तीको ढाकछोप गर्न गैरकानूनी तरिकाले कागजपत्रहरू सच्याउने, केरमेट गर्ने वा हेरफेर गर्ने गरेको देखिंदा निज तत्कालीन निमित्त कार्यालय प्रमुख रमेश शर्मा भुसालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ अनुसारको कसुर देखिंदा निज रमेश शर्मा भुसाललाई ऐ। ऐनको दफा ११ बमोजिको सजाय हुन,

साथै सदरमुकाम बेनीवाट लगभग ३ घण्टा मात्र टाढा रहेको उक्त निर्माण कार्यको अनुगमन गर्ने जिम्मेवारी निज रमेश शर्मा भुसालकै रहेको भए पनि काम सम्पन्न भए नभएको एकिन नगरी भुक्तानी दिने कार्य गरेको गरी उक्त हानि नोक्सानी ढाकछोप गर्ने उद्देश्यले भुक्तानी दिएको २० महिना पछि पुनः निर्माणको प्रयास गरेको देखिंदा निजले नेपाल सरकारलाई गैरकानूनी हानि र्पुयाउने वदनियतले झुट्टा विलका आधारमा भुक्तानी दिएको देखिन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर देखिंदा निज रमेश शर्मा भुसाललाई रु.१,४५,९२८।६५ (एक लाख पैंतालीस हजार नौ सय अठ्ठाईस पैसा पैंसट्ठी) बिगो कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र विगो असुल उपर गरी पाउन समेतको मागदावी लिइएको छ।

(२) शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङ्गको तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र तत्कालीन इन्जिनियर सुदिप खड्काले कम्पाउण्डवाल निर्माण कार्यको फिल्ड निरीक्षण गरी वास्तविक लागत अनुमान तयार नगर्ने र फिल्डमा नभएको कार्य समेत नापी किताबमा चढाई बदनियतपूर्वक बढी भुक्तानी गर्न सिफारिस गर्ने, मुल्यांकनको बखत वेनी – दाना बाटोमा आवागमन बन्द रहेकोले निर्माणस्थल पुग्न नसकेको भनी झुट्टा बयान गर्ने र यी कार्यहरूबाट नेपाल सरकारलाई भएको हानि नोक्सानी ढाकछोप गर्ने उद्देश्यले भुक्तानी दिएको २० महिना पछि पुनः निर्माणको प्रयास गरेको देखिंदा निजहरू तेजेन्द्र शर्मा पौडेल र सुदिप खड्का दुवैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को देहाय (क) (ग) र (ङ) को कसुर गरेको स्थापित हुन आएकोले निजहरू दुवै जनालाई रु.१,४५,९२८।६५ (एक लाख पैंतालीस हजार नौ सय अठ्ठाईस पैसा पैंसट्ठी) बिगो कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी विगो असुल उपर गरी पाउन मागदावी लिइएको छ।

९३० शुभकामना निर्माण सेवाको प्रोपाईटर सरिता सुवेदी र शुभकामना निर्माण सेवाबाट अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्माले स्वीकृत लागत अनुमानको परिधिभित्र निर्माण कार्य नगरेकोले उक्त कम्पाउण्डवाल निर्माणले उद्देश्यअनुरुप काम नगरेको र कम्पाउण्डवाल निर्माणमा फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई बदनियतपूर्वक कामै नगरी रु.१,४५,९२८।६५ बढी भुक्तानी लिएको देखिएकोले निर्धा्रित मापदण्ड र सम्झौताको पालना गरी उक्त निर्माण सेवाबाट अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्माले आफुले गर्नुपर्ने उक्त कार्यको जिम्मेवारी स्थानीय ठेकेदारलाई दिएको र बिल भुक्तानी लिनका लागि दानाका प्रमुखलाई फोटो खिची लम्बाई चौडाई नापी स्थानीय ठेकेदारलाई लिई आउन भनेको र लागत ईष्टिमेटभन्दा निर्माण कार्य धेरै गरेको भनी गैरजिम्मेवारपूर्ण सम्झौता अनुसारको तोकिएको मापदण्डबमोजिमको निर्माण कार्य नगरी आफूलाई सुम्पेको कार्यलाई अरु नै स्थानीय ठेकेदारबाट गराएको र कर्मचारीहरूसँगको मिलोमतोमा फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई बदनियतपूर्वक कामै नभएको रु.१,४५,९२८।६५ बढी भुक्तानी लिएको देखिंदा शुभकामना निर्माण सेवाको प्रो. सरिता सुवेदी र उक्त निर्माण सेवाबाट अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्मा दुवैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू दुवै जनालाई रु.१,४५,९२८।६५ (एक लाख पैंतालीस हजार नौ सय अठ्ठाईस पैसा पैंसट्ठी) बिगो कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगो असुल उपर गरी जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार