दुई दिने पत्रकारिता तालिम सम्पन्न

दरवाङ, शनिबार जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि सुरु भएको आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम शनिबार समापन भएको हो ।


तालिममा मालिका गाउँपालिकाको ७ वटा वडाका ३५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । तालिमको समापन गर्नुहँुदै मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले दुर्गम क्षेत्रको समस्या र सम्भावना उजागरसंगै सामाजिक जागरण ल्याउनका लागि पत्रकारिताको भूमिका आवश्यक पर्ने बताउनुभयो ।


विकास, सुशासन, पारदर्शीता, जनसहभागिता, विकृति, बेतिथीको न्युनीकरणका लागि गाउँ गाउँमा सञ्चार माध्यमको पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष विटालुले म्याग्दीमा पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिती शुन्य रहेको बताउनुहुँदै तालिमले महिलाहरुलाई पत्रकारिता पेशामा लाग्न थप हौसला मिल्नेमा विश्वस्त रहेको बताउनुभयो ।


प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले स्थानीय तहको गतिबिधि, समस्या र सम्भावनाको पहिचान गरि राष्ट्रियकरण गराउन तालिम प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । वडा नं ६ का अध्यक्ष सन्तनाथ जैसीले स्थानीय तहको कामलाई प्रभावकारी बनाउन सञ्चार माध्यमले रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभयो ।


नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले नयाँ संरचना अनुसार स्थानीय तह, वडा र बस्तीसम्म पत्रकारिता र सञ्चार माध्यमको पहुँच बढाउन अभियान थालिएको बताउनुभयो ।


म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।


स्थानीय स्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यले यसअघि अन्नपूर्ण, रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा पनि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको थियो । तालिम सञ्चालन पश्चात ग्रामिण क्षेत्रका गतिबिधिहरु सञ्चार माध्यममा आउने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार