बाख्रापालबाट सफल धनबहादुरको कहानी : विदेशबाट फर्किंदा ७ लाख ऋण, अहिले १४ लाख कमाइ

ध्रुवसागर शर्मा /म्याग्दी,मंगलबार जेठ २८ गते । युरोपेली मुलुकको करिब डेढ दशकको बसाइलाई बिट मार्दै सात वर्षअघि ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका बेनी नगरपालिका–३ का ४२ वर्षिय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्न सफल भएका छन्।

झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै चलचित्रको रुमानी कल्पना जस्तै लाग्छ। विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि स्वदेश फर्किएका श्रीषले त्यही ऋण तिर्न गरेको बाख्रापालन अहिले पैसा कमाउने ठूलो माध्यम बनेको छ।

श्रीषले २०६१ सालबाट ३ लाखको लगानीमा सुरु गरेको वोयर बाख्रापालनबाट अहिले वार्षिक १४ लाख रुपैयाँसम्म कमाइँ गर्दै आएका छन्। ‘विदेशबाट फर्किदाँ लागेको ७ लाख रुपैयाँ ऋण तिर्नका लागि स्थानीय जातका बाख्रा बेचेर ३ लाखको लगानीमा बोयर जातका बाख्रापालन सुरु गरेको हुँ’, श्रीषले भने, ‘६ वर्षको यो अवधिमा ऋण तिरेर पनि व्यवसाय वृद्धि गर्नुका साथै २० लाख बचत गर्न सफल भएको छु।’

श्रीषको खोरमा अहिले ६० ओटा बोयर जातका बाख्रा छन्। करिब डेढ लाख पर्ने बोका समेत छन्। बोयरको बोका खरिद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराई त्यसबाट उत्पादित बाख्रालाई प्रति केजी १५ सयमा बिक्री गर्ने गरेको श्रीष बताउँछन्।

श्रीषले अबको तीन वर्षभित्र वार्षिक २५ लाखसम्म आम्दानी गर्ने गरी खोर बिस्तार सहितको योजना समेत बनाएका छन्।

मोरङबाट श्रीषको बाख्रा फर्म अवलोकनका लागि आएको केशब न्यौपानेको टोलीले समूह बनाएर फर्मको अवलोकन भ्रमण गर्यो। श्रीष पशुपालन तथा कृषि फार्म प्रालि दर्ता गरी व्यवसायिक बाख्रापालन गरेका श्रीषले बीउका रुपमा बोयर जातका बाख्रा पालेकाले बोयरको श्रोतकेन्द्र बनाउन आवश्यक पूर्वाधार र तालिम लिएका छन्। श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडेललाई प्रयोग गरेका छन्। बाख्रापालन सम्बन्धि तालिम लिएपछि श्रीषले आफूले सिकेको सीप अन्य किसानलाई पनि सिकाउँदै आएका छन्।

जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोक लाग्ने, दुध मासु दुवैका लागि प्रयोग हुने, आर्कषक र कसिलो शरिर हुने लगायतका विशेषताहरू अफ्रिकन वोयर जातका बाख्रामा हुनेहुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्गे कमाइ गर्न सकिने उनको अनुभव छ।

श्रीषको बाख्रा फर्म हेर्न नेपालबाट मात्र होइन भारतको दार्जलिङ, सिक्किमबाट समेत कृषकहरू आउने गरेका छन्। श्रीष भन्छन्, ‘मेरो फर्म खोज्दै पूर्वी नेपालका विभिन्न जिल्ला र भारतबाट समेत २ वर्षको अवधिमा ५५ वटा समूह यहाँ आएका छन्।’

मैले विदेशमा धेरै हण्डर खाए आफ्नो विदेशी भूमिमा भोगेको आफ्नो अतितलाई सम्झँदै श्रीषले भने, ‘पसिनाका धारा छुटाउँदै काम गर्दा पनि तलब पाइन, बिरामी परे, साथीहरूबाट ऋण लिएर उपचार गरे, नेपाल फर्किन पनि ऋण लिएँ, त्यही ऋण तिर्न सुरु गरेको यो व्यवसायले मलाई फलिफाप भयो।’ ४२ वर्षिय आँटिला यी युवा अहिले देख्दै कलकलाउदा रातापिरा देखिन्छन्।

हँसिलो अनुहार र फरासिलो व्यवहार भएका श्रीषले विदेशबाट फर्केर आफ्नै गाउँमा केही इलम गर्न चाहनेलाई दिल खोलेर सहयोग गर्दै आएका छन्। खाडी मुलुकमा पुगेर फर्किएका युवा पशुपालनमा आर्कर्षित भइरहेको अवस्थामा श्रीषले विदेशमा आफूले खाएको हन्डरलाई सम्झिएर स्थलगत रुपमा आएका र फोनबाट समेत बाख्रापालनका बारेमा सिकाउने र समस्या समाधान गर्ने गरेका छन्।

म्याग्दीको विकट गाउँमा नमुना बाख्रापालनको जानकारी पाएका न्यौपानेले जिल्ला सदरमुकाम बेनी नजिककै बस्तीमा भएकाले सहजै सवारीसाधनमै टोलीसँगै पुगेर फर्मको अवलोकन गरे। उनले खोर व्यवस्थापनलाई भन्दा पनि स्थानीय जातको बाख्राबाट व्यवसायीक बाख्रापालन सुरू गदैं वार्षिक १४ लाखसम्म आम्दानी गर्न सक्ने श्रीषको मेहनत र शैलीबाट सिक्ने अवसर पाएको बताए। न्यौपानेले श्रीषको फर्मलाई थप प्रचारप्रसार गर्ने बताए।

केन्द्रिय भेडाबाख्रा प्रर्वद्धन केन्द्रको सिफारिसमा मेचीदेखि महाकालीसम्मका बाख्रापालक कृषकमा लोकप्रियता कमाइरहेका श्रीषको फर्ममा पशुविकास अधिकृत इश्वरी खतिवडासहितको विज्ञ टोली समेत पुगेको छ। ‘बाख्रापालनका बारेमा समान्य ज्ञान समेत नभएकाहरू यहाँ आएर मेरो दैनिकी हेर्नुहुन्छ, भिडियो बनाएर समेत लैजानुहुन्छ’, श्रीषले भने।

श्रीष बिहानदेखि बेलुकीसम्म बाख्रा फर्म हेर्नका लागि आउनेलाई आफ्नो फर्मको जानकारी, गतिविधि र आफ्नो दिनचर्याका बारेमा बताउनमै व्यस्त हुन्छन्। हालसम्म श्रीषको फर्म खोज्दै ५५ समूह र डेढ सयभन्दा धेरै व्यक्तिगत रुपमै आएका छन्। धेरै भ्रमणमा आउने जिल्लामा बुटवल, भैरवहवा, मोरङसहित पश्चिम नेपालका विभिन्न जिल्लाका छन्।

छिमेकी राष्ट्र भारतको दार्जिलिङ आसपासका क्षेत्रबाट समेत आउने गरेका छन्। इलाम र दार्जिलिङका कृषकहरू समूह बनाएर आउने गरेका छन्। खोर व्यवस्थापनसहित डेढ सय बोयर बाख्रा पुगेपछि अवलोकन गर्न आउनेहरूका लागि निश्चित शुल्क तोक्ने योजना समेत श्रीषको रहेको छ।

श्रीषको फर्ममा बोयर जातका बाख्रा, बोका, पाठापाठी छन्। स्थानीय जातका बाख्रालाई विस्थापित गरी उन्नतजातका बाख्रापालमा आकर्षित भएका श्रीषको कमाइ जति आकर्षक छ उनको फर्म पनि नेपालमा मात्रै होइन भारतका विभिन्न ठाउँहरूमा समेत चर्चित हुँदै गएको छ। द नेपालटप

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार