लागूऔषध दुरुपयोग तथा ओसारपोसारविरुद्ध सप्ताहव्यापी कार्यक्रम सकियो

म्याग्दी,बुधबार असार ११ गते । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरुको आयोजना गरेर लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०१९ मनाइएको हो ।

जुन २६ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत न्यु वेष्ट प्वाइन्ट बेनी, थाकनपोखरीका विद्यार्थी र आमा समूह एवं जनप्रिय मावि दरबाङमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको विभिन्न विषयहरुमा प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले सहजीकरण गरेका थिए । यसैगरी सप्ताहव्यापी कार्यक्रम अनुसार अन्तरमावि जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गर्नुका साथै सदरमुकाम बेनीबजारमा सञ्चालित मेडिकल तथा स्वास्थ्य क्लिनीकहरुको अनुगमन गरिएको थियो ।

यसैबीच दिवसको अन्तिम दिन बुधबार बेनीमा अन्तत्र्रिmया कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम सकिएको छ । कार्यक्रममा दिवसको मूल नारामा आधारित रहेर सञ्चालित बक्तृत्वकलामा कुल ७ जना सहभागीमध्ये प्रथम हुन सफल प्रकाश माविका सिर्जना कटुवाल, द्वितीय वेष्ट पोइन्टका अनुसुया श्रेष्ठ, तृतीय बेनी बोर्डिङका बन्दना शर्मा र सान्त्वना लिटिल गार्डेनका युनिसा शर्मालाई क्रमशः ४ हजार, ३ हजार २ हजार र १ रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

विजेतालाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले पुरस्कार वितरण गरेका थिए । उनीहरुलाई पुरस्कार वितरण गर्दै प्रजिअ अधिकारीले पछिल्लो समय सबै वर्गका किशोरकिशोरीहरु लागूऔषध सेवन र ओसारपोसारमा संलग्न भएकाले सरोकारवाला निकाय सबैले रोकथामका लागि प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख भीम आचार्य, नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघ जिल्ला शाखाका अध्यक्ष हरिप्रसाद पौडेल र बक्तृत्वकलाका विजेता सिर्जना कटुवालले मन्तव्य राखेका थिए । कार्यक्रम प्रजिअ अधिकारीको अध्यक्षता र प्रहरी निरीक्षक लक्ष्मण कटुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार