तिहार लक्षित बेनीमा बजार अनुगमन

म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो

बेनी,शुक्रबार कात्तिक ८ गते । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ ।

किराना, फलफुल र डेरी पसलहरुको अनुगमनको क्रममा म्याद नाघेका, स्पष्ट लेबल नभएका सामाग्रीहरु भेटिएको र ती सामाग्री जफत गरि कमजोरी सच्याउन निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र शर्माले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा दालमोठ, मिठाई, सस, चिउरा, मैदा लगायतका म्याद नाघेका सामाग्री भेटिएका थिए । त्यसैगरि स्पष्ट लेबल नभएको माडा समेत भेटिएको थियो । त्यसैगरि अनुज्ञापत्र नलिईकन घरेलु उद्योग सञ्चालन गरेको, डेरी उद्योग दर्ता गरि किनारा लगायतको व्यवसाय गरेको समेत भेटिएको अनुगमन टोलीमा सहभागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख केदार पौडेलले बताउनुभयो ।

उहाँले चाडपर्वको समयमा अन्य समयको तुलनामा बढी घरायसी सामाग्रीको खपत हुने भएकाले खाद्य सामाग्रीको म्याद निक्यौल गरेर मात्रै सामान गरिद गर्न सर्वसाधारण सर्तक हुनुपर्ने बताउनुभयो । टोलीले बजारबाट नियन्त्रणमा लिएको म्याद नाघेका सामाग्रीहरुको बुधवार नै नष्ट समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमन टोलीमा कृषि ज्ञान केन्द्रका प्रमुख ज्ञानराज कोइराला, बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापा, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख मोहनचन्द्र सुवेदी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक दुर्गा प्रसाद अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका टेकबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
ग्रामीण भेगमा अखाद्य र म्याद नाघेका बस्तु तथा सामाग्री जाने सक्ने भएकाले सतर्कता अपनाईएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, छड्के बजार अनुगमनलाई निरन्तरता दिईनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार