मालिकाको जेममा विद्यालय भवन निर्माण

जेम, मंगलबार मंसिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ ।काठमाडौ स्थित जापानी राजदुतावासको सहयोगमा भौगोलिक रुपमा विकट र दुर्गम गाउँमा सुबिधा सम्पन्न भवन निर्माण भएको हो । दुतावासको ९१ लाख ६१ हजार रुपैयाँ सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको विद्यालयका प्रअ पोष्टबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

विक्रम संवत २०७२ को भूकम्पका कारण पुरानो भवन जिर्ण बनेको थियो । ‘नयाँ भवन बनेपछि पठनपाठनमा धेरै सहज भएको छ,’ प्रअ विश्वकर्माले भन्नुभयो ‘चुहिने, भत्किने अवस्थाको हावाहुरी पनि छेक्न नसक्ने जिर्ण भवनमा पठनपाठन सञ्चालन गर्न जोखिम थियो ।’

पहाडी भूगोलको दुर्गम ठाउँको विद्यालयमा सदरमुकामको जस्तो सुविधा सम्पन्न भवन निर्माण भएकोमा प्रअ विश्वकर्माले खुसी व्यक्त गर्नुभयो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनको समन्वयमा दुतावासले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उमेश पुनले बताउनुभयो ।

‘साना, साघुरा कोठाहरुमा पठनपाठन गरेका थियौ,’ उहाँले भन्नुभयो ‘नयाँ भवन निर्माण भएपछि हाम्रा भाइबहिनी छोराछोरीहरुले सुरक्षित महशसु गरेका छन् । शान्तीपूर्ण वातावरणमा पढ्ने वातावरण बनेको छ ।’

भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । यसअघि पुरानो जिर्ण भवनमा बसेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । पर्खाल चिरा परेको, पानी चुहिने, भुई हिलो हुने समस्या थियो ।

नयाँ पक्कि भवन निर्माण भएपछि सुरक्षित महशुस भएको कक्षा ८ की छात्रा इशा घर्तीले बताउनुभयो । पुरानो भवनमा त्रास पूर्ण वातावरणमा पढ्ने गरेको अर्की छात्रा सरिता पटेलले बताउनुभयो । वि।स २०४२ मा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुने गरेको छ । २०२ जना विद्यार्थी रहेका शिक्षक तुलबहादुर पुनले बताउनुभयो ।

२ जना दरबन्दि, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक छन् । निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर रु। एक हजार चन्दा सहयोग गर्दै आएका छन् । दुई वर्षअघि कच्चि सडक पुगेको जेम गाउँ म्याग्दीको दुर्गम बस्ति मानिन्छ ।

नवनिर्मीत भवनको सोमबार जापानी राजदुतावासका दृतीय सेक्रेटरी यासुकी स्याण्डोले उद्घाटन गर्नुभएको थियो । ‘यती सुन्दर गाउँमा बलियो र राम्रो भवनमा बसेर पढ्न पाउँदा यहाँका बालबालिकाले राम्रो शिक्षा पाउनेछन,’ स्याण्डोले भन्नुभयो ‘यो भवनको संरक्षण गरि दिर्घकालिन प्रयोगका लागि ध्यान दिनुहोला ।’

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पूर्वाधारसंगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पनि जोड दिनुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पछिल्लो समय रुममा देखिएको सुरक्षा चुनौति र विकृति न्युनीकरणका लागि आमा समूह र युवा क्लवले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

भवनमा फर्नीचर व्यवस्थापन गर्न गाउँपालिकाले सघाउने उहाँले बताउनुभयो । उपाध्यक्ष खरमाया बिटालु र वडा अध्यक्ष नरबहादुर पुनले विकासमा जनचासो र अग्रसरता आवश्यक रहेको बताउदै पूर्वाधारलाई प्रयोग गरेर शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । बेनी सामुदायिक माविका शिक्षक भिम घर्तीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार