बेनी खानेपानी संस्थाको २० औं बार्षिक साधारणसभा , एक वर्षमा १ करोड २८ लाख आम्दानी

म्याग्दी ,शुक्रबार पौष २५ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं बार्षिक साधारणभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनी र गलेश्वर क्षेत्रमा खानेपानीको आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ। बेनीबजार र गलेश्वर क्षेत्रमा बसोबास गर्ने करिव १९ हजार जनसंख्यालाई शुद्ध पिउनेपानी वितरण गर्दै आइरहेको संस्थाले पानीको महसुलबाट ८९ लाख ८१ हजारसहित अन्य विभिन्न शीर्षकमा करोड २८ लाख ९८ हजर ६७८ आम्दानी गरेको हो।

शुक्रबार बेनीमा सम्पन्न संस्थाको २०औँ साधारणसभामा कुल आम्दानीबाट खर्च ९९ लाख ९० हजार ८४० भएकोमा खुद बचत ३० लाख ७ हजार ८३८ र नगर विकास कोषलाई १ करोड ५३ लाख १ हजार ३५८ भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाकाका प्रमुख हरिकुमार श्रेष्ठले बजारक्षेत्रमा २४ घण्टै खानेपानी वितरणको वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए। उनले नगरपालिका भित्रका सबै वडामा समेत शुद्ध खानेपानी वितरणको अभियानलाई समेत प्राथमिकता दिएको बताए।
‘स्वच्छ खानेपानी पिउनु नागरिककको अधिकार हो, घरधुरीमै खानेपानी पुर्‍याउन प्रतिबद्ध छौँ’ प्रमुख श्रेष्ठले भने।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अन्य सहरको तुलनामा बेनीबजारमा वितरण भइरहेको खानेपानी शुद्ध र सफा रहेको बताए। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, लेखनाथ सिहाना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पोखराका उपाध्यक्ष हरिप्रसाद लामिछाने, उपभोक्ताको तर्फबाट साधनाकुमारी श्रेष्ठ र नवराज शर्मा र शुभकामना मन्तब्य राखेका थिए।

साधारणसभाको अवसरमा संस्थामा कार्यरत मिटर रिडर सौरभ किसानलाई नगद ७ हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो। ग्रामीण क्षेत्रबाट तीव्र बसाइँसराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी विस २०६३ सालमा करिव ५ करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत बेनीबजार र गलेश्वर बजारका १ हजार ३३ घरधुरीमा धारा जडान गरिएको छ।

विस २०७३ सालमा ६ करोड १५ लाख थप गरी कुल ११ करोड १२ लाखको लागतमा सञ्चालित संस्थाले नयाँ र आधुनिक प्रविधिको प्रयोगलाई समेत जोड दिएको छ। अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोलाबाट प्रति सेकेण्ड २५ लिटर बराहपाखोमा रहेको ३ ओटा इन्टेक, चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन्। बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानी आपूर्तीमा समस्या भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार