दुर्गम पात्लेखर्क गाउँमा सडक पुग्यो

बेनी ,बुधबार माघ १५ गते । म्याग्दीको दुर्गम गाउँ पात्लेखर्कमा सडक सञ्जालले जोडिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको हो । सडक पुगेपछि स्थानीयले नाचगान र विभिन्न कार्यक्रम खुशीयाली मनाएका छन् । रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला, दुवाडी, श्रीखर्क हुदै पात्लेखर्क जोड्ने सडक निर्माण गरेको हो ।

गाउँमा सडक सञ्जालको पहुँच पुगेसंगै स्थानीयलाई आवतजावत र ढुवानीमा सहज हुने स्थानीयको भनाइ छ । ‘पहिले सदरमुकाम बेनी जान तीन दिनको समय हिँड्नु पथ्र्याे ,सडक निर्माण आएपछि अहिले एकदिनमा जान–आउन सकिन्छ’,स्थानीय ९६ बर्षिय रिबहादुर छन्त्यालले खुशी हुँदै भन्नुभयो । ‘ हामिले यस्तो होला भन्ने कल्पना पनि गरेका थियनौं ,नसोचेको भयो हामी हर्षित भएका छौं ।’

गत वर्ष घ्यासीखर्क देखि छहरेखोला पुगेको सडकलाई यसबर्ष वडा कार्यालयको ६ लाख र गाउँपालिकाको ८ लाख रुपैयाँ बजेटमा पात्लेखर्क पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष युवराज छन्त्यालले बताउनुभयो । उहाँका अनुसार गत वर्ष बिनियोजन भएको छ लाख रुपैयाँबाट घ्यासीखर्क र छहरीखोलाको बिचमा पर्ने पहाडमा पाँच सय मिटर सडकको ट्याक खोलिएको थियो ।
यो वर्ष बिनियोजन भएको १४ लाख रुपैयाँ बजेटबाट पात्लेखर्कसम्म सडक पु¥याइएको वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । बस चल्न मिल्ने गरि फराकीलो, ग्रेड र घुम्ति मिलाएर सडक खनिएको उपभोक्ता समितिले जनाएका छन् । घ्यासीखर्क देखि पात्लेखर्क सम्मको सडक पाँच किलोमिटर दुरीको छ ।

सडक पुगेपछि आवत जावत र ढुवानीमा सहज हुने वडा अध्यक्ष छन्त्याले बताए । ‘सडक पहुँच विस्तार संगै गाउँमा उत्पादित आलु तथा अन्य खाद्य समाग्री निर्यात गरी स्थानीयलाई आर्थिक आम्दानीमा टेवा पुग्ने विश्वास लिएको छु ,’ वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । दग्नाम दर्मीजा चिमखोला सडकको ट्याक खुलीनसकेकाले सडक पुगेपनि सिधा यातायात सञ्चालन हुन सकेको छैन् ।
बेगखोला चिमखोला हुदै कुइनेमंगले जोड्ने सडकमा ट्याक्टर मात्र चल्ने गरेका छन् । दग्नाम दर्मीजा चिमखोला सडकले नजोदिदा सम्म चिमखोला कुइनेमंगले पात्लेखर्क क्षेत्रमा आन्तरिक जिप सञ्चालनका लागि पहल गरिएको गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले ठाडाखानी हँुदै कुइनेखानी गाउलाई पनि सडक सञ्जालले जोड्ने तयारी गरेको जानकारी दिनुभयो । गत वर्ष ठाडाखानी देखि भेडीखाल्टा सम्म पुगेको सडकलाई यस वर्ष कुइनेखानी पु¥याउन पच्चिस लाख बिनियोजन भएको उहाँको भनाइ थियो । गत वर्ष २५ लाख बिनियोजन भएको थियो । ‘गाउँपालिकाको एक वडा एक सडक योजना अन्तर्गत यस बर्ष जिल्लाकै दुर्गम एवम् विकट पात्लेखर्कमा सडक पहुँच विस्तार गरिएको हो’, अध्यक्ष भण्डारीले भन्नुभयो । ‘सडक पहुँच पुगेसंगै स्थानीयबासीलाई आवतजावतमा सहज हुनुका साथै सामान ढुवानी सस्तो हुने अपेक्षा लिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार