अन्नपुर्णको भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा क्वारेन्टाइन बनाइने

बेनी, आइतबार चैत ०९ गते । कोभिड–१९ (कोरोना भाइरस)बाट प्रभावित बिरामीलाई राख्न म्याग्दीको अन्नपूर्ण गाउपालिकाले वडा न २ भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा क्वारेन्टाइन बनाइने भएको छ ।

मुस्ताङसंग सिमाना जोडिएको अन्नपूर्ण गाउपालिका क्षेत्रमा कसैलाई कोरोनाको लक्ष्यण देखिएको अवस्थामा सुरक्षित रुपमा बस्नका लागि सर्वोदय माविको भवनलाई प्रयोग गर्ने आइतबार सम्झौता भएको हो ।

गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धीबहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर पुर्जा र प्रअ किसनबहादुर पुनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर रोगको पहिचान तथा शंकास्पद बिरामीको सुरक्षित बसोबासका लागि १० बेड क्षमताको क्वारेन्टाइन बनाइने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

आवश्यक परेको अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मी खटाउन तयारी अवस्थामा राखिएको छ । यसैगरी अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाले आइतबार नारच्याङमा कोरोनाबाट जोगिने उपायको विषयमा जनचेतनामुलक कार्यक्रम गरेको छ ।
सार्वजनिक स्थलमा कोरोनाको कारण, लक्ष्यण र बच्ने उपाय सम्बन्धी सन्देश लेखिएको ब्यानर राख्नुका साथै पर्चा वितरण गरिएको आयोजनाको सामाजिक तथा वातावरण इकाइका प्रमुख रामकुमार खड्काले जानकारी दिनुभयो ।

कोरोनाको जोखिमलाई मध्यनजर गरेर अन्नपूर्ण गाउपालिकाले प्राकृतिक तातोपानीका कुण्डमा स्नानका साथै पर्यटकीय स्थलको भ्रमणमा रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार