चितवनमा मलको चरम अभाव

चितवन ।युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन । धानवालीमा मल हाल्ने समय हुदाँँ समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानै देखि लाइनमा बस्ने गरेका छन ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने नपाउने चिन्ताले सताएको छ । विहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउने स्थानीय विकास कोइरालाले महामारीको चुनौतीका बावजुद पनि मलका लागि विहानै देखि लाइन बस्नुपरेको बताए ।

गत वर्षहरुमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्रि भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्रि गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोेद दहालले बताए । अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल विक्रि भइरहेकोमा यो वर्ष किसानहरुले पर्याप्त मल प्राप्त गर्न नसकेको उनले बताए ।

चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ । साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामाग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो । मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ । कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन । नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ । अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो ।नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार