चलचित्र निर्देशक छेतन गुरुङको निधन

काठमाडौं । चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको आज बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए । ४२ बर्षका गुरूङ लिभर समस्याका कारण बिरामी भएका थिए । बिरामी भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर गुरुङ नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका थिए । उनले सन् २०१५ मा चलचित्र ‘आभाष’ का लागि गीत लेख्नुका साथै एउटा गीतमा संगीतसमेत दिएका थिए । गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका छन भने डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए ।

गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनका लागि तयारी अवस्थामा छ । पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए । गुरुङ, डेब्यु चलचित्र नोभेम्बर रेनबाटै उत्कृष्ट लेखकका रुपमा चिनिएका थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार