संचारकर्मी मृत फेला, हत्या गरेर झुण्ड्याइएको आफन्तको दाबी

धनगढी । कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गरेका छन्। हत्या गरेर उनीलाई झुण्ड्याइएको उनका आफन्तको भनाई छ। नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न संघसंस्थाले पनि घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।

कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर ४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन्। त्यसैदिनदेखि सम्पर्कविहीन भएकी थिइन्। तीन दिनपछि भदौ २ गते घोढाघोडी नगरपालिका ५ को फुलबारी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

उनका आफन्तले ललित जाग्री र उनकी नयाँ प्रेमिका मिलेर हत्या गरि झुण्ड्याएको आरोप लगाएका छन्। ‘मेरो बहिनी ललितको घर जान्छु भनेर गएकी हो, तीन दिनपछि झुण्ड्याइएको अवस्थामा फेला परिन्’उनका दाजु बिशाल पहराईले भने,‘शवको अवस्था हेर्दा हत्या भएको स्पष्ट देखिन्छ।’

करिव ६ वर्षदेखि २४ वर्षीय ललित जाग्रीसँग उनी प्रेम सम्बन्धमा रहेको उनले बताए। ६ महिनाअघि सुदूरपश्चिम दलित पत्रकार संघ गठन भएर निर्मला सहसचिव बनेपछि दलित भएको थाहा पाएर ललितले विहे गर्न नसकिने भन्दै आफ्नो बिहनीसँग प्रेम सम्बन्ध तोडेर नयाँ प्रेमिका खोजेको उनले बताए। ‘दलित भएको थाहा पाएपछि नयाँ प्रेमिका बनाएका ललितले भदौ ३१ गते घरमा बोलाएकोले बहिनी गएकी हो’उनले भने।

भदौ ३१ गते बिहान फोनमा कुरा गर्दा ललितलाई भेट्न जान लागेको भनेर बताएको उनकी मिल्ने साथी लक्ष्मी नेपालीले भनिन्। ‘दलित भएको थाहा पाएपछि बिहे गर्दैन भन्दै छ, म त उ सँगै बिहे गर्छु, अहिले उसको घर जाँदै छुँ भनेकी थिइन्’उनले भनिन्। उनको नयाँ प्रेमिकाका सँग पनि विवाद भएको पनि उनले साथी र आफ्नो दिदीलाई भनेकी थिइन्।

पूर्वपश्चिम राजमार्ग भन्दा दक्षिण र ललित जाग्रीको घर भन्दा करिव ५ मिटर उत्तर तर्फ झुण्डिएको अवस्थामा शव फेला परेको थियो। घाटीमा सलको गाँठो नसुर्केको, घटनास्थलमा चप्पल र छाता फेला परेको र घडी २७ फिट टाढा चुडिएको अवस्थामा फेला परेको, कपाल लुछिएको अवस्थामा फेला परेका लगायत हेर्दा आत्महत्या नभई हत्या भएको उनका दाजुको दावी छ। आइतबार उनको पोष्टमार्टमा गरिएको छ।

दुई जनाको नाममा किटानी जोहेरी

निर्मलाका दाजु बिशालले बिहिनी निर्मलाको हत्या गरेको भन्दै दुई जनाको नाममा किटानी जोहरी दिएका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिष्टले २ जना विरुद्ध किटानी जाहेरी दिएको बताए। निर्मलाका दाजु बिशालले ललित र उनकी प्रेमिका रिया साउँदको नाममा किटानी जाहेरी दिएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको अनुसन्धानका लागि स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ। किटानी जाहेरी परेपछि अब नयाँ तरिकाले अनुसन्धान गरिने डिएसपी बिष्टले बताए।

यस्तै विभिन्न अधिकारवादी संघसंस्थाहरुले घटनाको निस्पक्ष छानविन गर्न माग गरेका छन्। दलित संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिवार साझा विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरेर संलग्नलाई कारबाहीको दायरामा माग गरेका छन्।

कारवाहीको माग गर्दै प्रदर्शन

संचारकर्मी निर्मलाको हत्या भएको भन्दै उनका आफन्त र दलित संघ संगठनले आईतबार धनगढीमा प्रदर्शन गरेका छन्। घटनाको सत्य तथ्य छानबिन गरि हत्यामा संलग्नलाई कारवाहीको माग जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना सहित प्रदर्शन गरेका हुन। बिहे गर्ने प्रलोभन दिएर प्रेमको जालमा पारेर दलित भएका कारण बिहे नगरेर हत्या गरेको भन्दै सत्यतथ्य छानबिन गरि हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका छन् ।nagariknews.nagariknetwork.com बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार