बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए।

जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हाइटेन्सनलाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उनले बताए। “बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो”, प्रमुख न्यौपानले भने, “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पुर्‍याएका हौँ।” उनले बालुवादेखि बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण विद्युतीकरण तर्फको तीन करोड रुपैयाँ खर्च भएको बताए।

“सोमबार ट्रान्सफर्मर जडान गरी विद्युत् पुर्‍याइएको छ”, प्रमुख न्यौपानेले भने, “अहिले धमाधम ग्राहकलाई मिटर वितरण गर्दै घरघरमा बत्ती जोड्ने काम भइरहेको छ।” मिटर जडानका लागि घरधनीले वडा कार्यालयमा आएर फारम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए।

पहिलो चरणमा बारपाकका ५०० घरघुरीमा बत्ती बाल्ने योजनामा प्राधिकरण रहेको प्रमुख न्यौपानले जानकारी दिए। उनले प्राधिकरणले विपन्न परिवारलाई भने निःशुल्क मिटर उपलब्ध गराउने बताए। गत चैतभित्र बारपाकमा विद्युत् पुर्‍याउने योजना प्राधिकरण थियो। प्रमुख न्यौपानका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि बन्दाबन्दीले काम गर्न केही असहज भएकाले ढिलाइ भएको हो।

लाइन विस्तारका लागि बालुवादेखि बारपाकसम्म मुख्य लाइनमा २५५ वटा र शाखा लाइनमा ५९० वटा फलामे पोल गाडिएको छ। बारपाकसम्म लाइन विस्तारका लागि लाङ्गाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियो।

यता गाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि स्थानीयवासी खुशी भएका छन्। “लद्युजलविद्युत् आयोजनाबाट बत्ती बाल्दा भोल्टेज नपुग्ने, कुटानी पिसानीलगायत समस्या थियो”, स्थानीयवासी कोपिला घलेले भने, “अब ती समस्या हामीले भोग्नुपर्दैन भन्ने लागेको छ।” रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार