अध्यादेश तत्काल फिर्ता लिएर संसदको बैठक बोलाउन काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

उनका अनुसार संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकको निष्कर्ष छ ।

उनले भने, ‘संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक छ यसलाई तुरुन्तै फिर्ता लिनुपर्ने निर्णय बैठकले गरेको छ ।’ संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर काँग्रेसको गरेको छ ।

काँग्रेसले संसदको बैठक अबिलम्ब बोलाउन पनि माग गरिएको उनको भनाइ छ ।भ्रष्टाचार बढेको, सरकारले कोरनो महामारी नियन्त्रणको लागि प्रभावकारी काम गर्न नसकेको दलको कार्यसमिति बैठकले लगाएको सांसद डिला संग्रौलाले जानकारी दिइन् ।

उनका अनुसार उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न-गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकार समक्ष माग गरेको छ ।

हिउँदे बाली लगाउने बेला हुँदासम्म रासायनिक मलको व्यवस्था सरकारले गर्न नसकेकोमा बैठकले सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार