ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७ जना पछि थपिने उनले बताए ।

ओली समूहको बैठक बालुवाटारमा जारी छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।

रायमाझी र थापा सोमबारसम्म कतै खुलेका थिएनन् । तर, बालुवाटारको भेलामा उपस्थित भएर आफ्नो कित्ता स्पष्ट गरेका छन् । बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कारण आफू लामो समयदेखिको सहयात्रा तोड्न बाध्य भएको बताएका थिए ।

यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहमा खुलिसकेका थिए । भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी छैनन् ।

त्यस्तै अहिलेसम्म कुनै पक्षमा नदेखिएका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बोलाएको बैठकमा जाने भएका छन् ।

बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्ने भएको छ । एक नेताको दाबीअनुसार त दाहाललाई कारबाहीको निर्णय यसअघि नै भइसकेको छ ।

ओलीले सोमबार बालुवाटारमा नै आफूनिकट सांसदहरुको बैठक गरेका थिए । दाहाल–नेपाल समूहले पनि नयाँ बानेश्वरको संसद् भवनमा आफूनिकट सांसदको बैठक गरेका थिए । यो समूहले पनि दिउँसो १ बजे बबरमहलमा केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।

सरकारले संसद् विघटन गरेपछि नेकपा पनि विभाजन हुन लागेको छ । दुवै पक्षका केन्द्रीय कमिटीको बैठक र निर्णयपछि नेकपा औपचारिक रुपमा विभाजन हुने देखिएको छ । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार