लामो पुल पर्यटकको रोजाइ

बागलुङ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो। कालीगण्डकीको बहाव निरन्तर थियो। सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो।

बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङका स्थानीयवासीको सहजता र पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुङ्गे पुलमा आफ्नै लयमा लच्किरहेको थियो। दिउँसो हरेक दिन भीड लाग्ने यस पुलमा शनिबारको दिन थप भीड हुन्छ। लामो पुलको सुन्दरता दिउँसोमा जति धेरै छ त्यो भन्दा धेरै रातिको समयमा देखिन थालेको छ। रातको समयमा यस पुलमा राखिएका ३०० बढी बत्तीले झिलिमिली बनाएपछि धेरैको आर्कषणको केन्द्र बनेको छ।

ुपारीबाट हेर्दा बारी र बारीबाट हेर्दा पारी, कस्तो सुन्दर दृष्य देखिएको छु पोखराबाट बागलुङ घुम्न आएका पोषण शर्मा भन्छन्, ुदिनभर वारिपारी गरियो, रातमा फोटो खिच्नकै लागि भए पनि फेरि पुल तरियो।ुबागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने यस पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आर्कषण पनि थपेको छ। यहाँबाट धौलागिरि हिमाल स्पष्ट देखिन्छ। त्यस्तै मालढुङ्गादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि सो पुलको आर्कषण देख्न सक्छन्।

दिउँसोमा चासो नराखेका यात्रीले रातको समयमा झिलिमिली देखेर आर्कषित भएको आन्तरिक पर्यटक बताउँछन्। बिजुली राखेकोले पुलले रातको समयमा आर्कषण बढाएको हो। लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए।

बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उनको भनाइ छ। बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने सो झोलुङ्गेपुल ५६७ मिटर लामो छ। कालीगण्डकी नदीदेखि १६५ मिटर उचाइमा बनेको यो पुल जति लामो ‘सिङ्गल स्पाम’ देशभर कतै छैन। यस पुलले डेढ घण्टाको बाटोलाई १० मिनेटमा छोटो बनाइदिएको छ।

कालिका मन्दिर आएका धार्मिक पर्यटकलाई बागलुङमा एक दिन भए पनि अड्याउने अभियानमा पुल सहयोगी बनेको बानपा १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। बिहान मन्दिर आएको मानिसले दिउँसो पञ्चकोट घुम्ने र बेलुकी अग्लो पुलमा घुम्ने गरेका छन्। यसरी दिनभरी घुम्दा बागलुङका होटलमा बास बस्ने पर्यटक बढ्ने विश्वास व्यसायीको छ।

कोरोना सङ्कट विस्तारै कम भएकोले पर्यटकको आगमन बढिरहेको छ । पुल बनेकै कारण पर्वततर्फ होटल सञ्चालनमा आइसकेका छन्। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार