काठमाडौं महानगरका विद्यालय माघ १ देखि खुल्ने

काठमाडौं । काठमाडौं महानगर क्षेत्रका विद्यालयहरु माघ १ देखि मात्रै खुल्ने भएका छन । स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आंकलन विश्लेषणका लागि भन्दै महानगरले विद्यालय खोल्न माघ १ गतेको समय दिएको हो ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण लगाइएका धेरैजसो प्रतिबन्धहरु फुकुवा भए पनि काठमाडौँ महानगर क्षेत्रका विद्यालयहरु खुल्न सकेका थिएनन् ।

चालु शैक्षिक सत्रको तीन महिना मात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो । कोरोना भाइरस संक्रमणबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको महानगरपालिकाका प्रवक्ता तथा वडा नंबर १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए ।

सरकारको निर्देशनअनुसार महानगरका विद्यालयहरुले गत असारबाट अनलाइन कक्षा भने चलाइरहेका थिए । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् । महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गरिरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ निजी विद्यालय छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार