पत्रकार गड्तौलाको ७१ वर्षको उमेरमा निधन

विराटनगर । विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा निधन भएको छ । वृद्ध पत्रकार गड्तौलाको शनिबार बिहान निधन भएको हो । पुष्पाञ्जली साप्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनी अघिल्लो दिनसम्म पुरानो मोटरसाइकल चढेर आफैं पत्रिका बाँड्दै हिँडेका थिए ।

विराटनगर महानगरपालिका– ५ त्रिमूर्ती चोक घर भएका गड्तौला सन्देश दैनिकका प्रकाशक पनि हुन् । विराटनगरका पत्रकार शेखर रेग्मीकाअनुसार २०३७ सालदेखि पत्रकारिता क्षेत्रमा रहेका गड्तौला शुक्रबार आफैं पत्रिका बाँड्न निस्किएका थिए । रेग्मीलाई गड्तौलाले नै पत्रकारिता सिकाएका थिए ।

पञ्चायत विरोधी अभियानमा गड्तौलाले पत्रकारिता क्षेत्रको माध्यमबाट ठूलो योगदान दिएका थिए । गडतौलाको प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण योगदान थियो । उनी निडर स्वभावका थिए । तत्कालिन अञ्चलाधिसँग पनि उनी डराउँदैन थिए । समाचार लेखेकै कारण उनले पटकपटक मुद्दा मामिला पनि खेपे । न्यू सृष्टी दैनिकका प्रधानसम्पादक शंकर खरेलका अनुसार पञ्चायतकालमा सरकार विरुद्धका समाचार छापेका कारण गड्तौलाले धेरै मुद्दा पनि खेपेका थिए ।

पत्रकारिता सुरु गर्नु अघि गड्तौला अहेबको रुपमा झापामा काम गरेका थिए । जागिर छाडेर उनले समीक्षा साप्ताहिक र राष्ट्रिय पुकार साप्ताहिकमा काम गरे । त्यसपछि भने अक्षर जोड्ने प्रेस राखेर आफैं पत्रिका प्रकाशन गर्न थालेका थिए । गडतौलाका एक श्रीमती, दुई छोरा, एक छोरी छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार