परिवारले राति प्रेमीको घरमा छोडेर आए, बिहान मृत भेटिइन् अञ्जिता

धनगढी । कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए।कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।

मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।

दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ। निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि ‍अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो।

निरज राति नै भगाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो।अहिले प्रहरीले घटनासम्बन्धी अनुसन्धान गरिरहेको डिएसपी बिष्टले बताए। वडा सदस्य निरज अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार