राप्ती नदीमा छाडियो ७० घडियाल गोही

चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालु आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उनले जानकारी दिए । यस आर्थिक वर्षमा १ सय गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीकाअनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।

यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोसी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।

निकुञ्जको प्रजनन केन्द्रमा हाल ५ सय ८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणनाअनुसार राप्तीमा १ सय १८ र नारायणीमा १ सय १ गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार