
काठमाडौँ । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ ।
यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिनुभयो । ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उहाँले भन्नुभयो । अदालत जानुअघि आज कानुन व्यवसायीसँग छलफल गरिने उहाँको भनाइ छ ।
जसपाको निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो ।
त्यसपछि अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष यादव लगायतलाई पार्टीबाट निष्काशन गरेका थिए । दुवैजनाले एक अर्कालाई यसरी कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराउँदै त्यहाँको दर्ता किताबलाई अध्यावधिक गर्न आग्रह गरेका थिए । तर निर्वाचन आयोगले दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गर्न नसक्ने भन्दै हाल रहेको पदाधिकारी नै कायम रहने निर्णय सुनाएको थियो ।
सो निर्णयलाई जसपा महन्थ ठाकुर पक्षले स्वागत गरेको छ भने यादव पक्षले आपत्ति जनाउँदै आएको छ । कार्यकारिणी सदस्य इस्तियाक राईले आयोगले जसपाको बारेमा गलत निर्णय गरेको बताउनुभयो । आफूहरुले पार्टीको विधान, राजनीतिक दल सम्बन्धी ऐन अनुसार सबै प्रमाण दिएपनि आयोगले कानूनसम्मत निर्णय नगरेको कारण त्यसैको उपचार खोज्न आफूहरु सर्वोच्च अदालत जान लागेको बताउनुभयो।
ठाकुरलगायतका नेतालाई अध्यक्ष यादवले कारवाही गरेको नभइ उनीहरुलाई पार्टीले पार्टीले कारबाही गरेको र त्यो निर्णय आयोगले नमान्नु आश्चर्यजनक भएको उहाँको भनाइ छ ।
कार्यकारिणी समितिको बैठक बोलाउँदा बैठकमा नआउने र बहुमत सदस्यको बैठकले निर्णय गर्दा त्यसलाई आयोगले मान्यता नदिने हो भने कसलाई मान्यता दिने भन्दै उहाँले प्रश्न गर्नुभयो । लोकतन्त्रमा महत्व बहुमतकै हुने र सबै संगठनले त्यसलाई स्वीकार गरेको छ भने आयोगले स्वीकार गर्न किन गाह्रो भन्दै नेता राईले आयोगले निर्णय गर्ने नभइ सुझाव मात्र दिनुपर्ने बताउनुभयो । रातोपाटीबाट