निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने कामबारे उद्योेग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ ।महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहितको प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायण प्रसाद रेग्मीलाई भेटी सुझाव दिएको हो ।

नेपालबाट निर्यात हुने वस्तुको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, नेपालका साना मझौला उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या भएकाले निर्यात प्रवद्र्धनका लागि निर्यात प्रोत्साहन कम्तिमा १० प्रतिशत हुनपर्ने र त्यो भन्दा माथि सामूहिक ट्रेडमार्ग, तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक फरक वस्तुको लागि नगद अनुदान रकम छुट्याइनु पर्ने सुझाव महासंघले दिएको छ ।

यस्तै नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटिलो भएकाले सरलरूपमा निकासी भएको विन्दुबाट ७ दिनभित्र सम्बन्धित उद्योग व्यवसायको बैंक खातामा अनलाइन भुक्तानीको व्यवस्था गरिनुपर्नेमा महासंघको जोड छ ।

निर्यातमा पुनर्कर्जाको हालको व्यवस्था अव्यवहारिक भएकाले निर्यातको प्रत्येक अर्डरका लागि पुनर्कर्जाको व्यवस्था हुनुुपर्ने र त्यस्तो कर्जाको समयावधि न्यूनतम तीन वर्षका लागि गरिनुपर्ने, ढुवानी लागत बढी भएकोले नेपालले आफ्नै कन्टेनरको व्यवस्था गर्नुपर्ने र नेपालमा सामान लिएर आउने कन्टेनरहरूको भाडा नेपाली आयातकर्ताले अगाडि नै तिरिसकेको हुँदा फर्किंदा खाली भएर फर्किने भएकाले नेपालबाट निर्यात गर्ने सामानको ढुवानी भाडामा पचास प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने, कृषि क्षेत्रलाई दिएको ब्याज दरमा सरल सुलभरूपमा सबै बैंकले एकरुपता हुने गरी ऋण उपलव्ध गराउनु पर्ने, सबै निर्यात गर्ने उद्योगहरूलाई निर्यातमा कर छुट र ड्यूटी ड्र ब्याक फिर्ता पाउने व्यवस्था हुनपर्ने सुझाव महासंघले दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निकासी बढाउनका साथै सहज र भरपर्दो रूपमा भुक्तानी प्राप्त गर्नको लागि अनलाइन भुक्तानीको व्यवस्था हुन पर्ने, कोभिडका कारण समस्याग्रस्त उद्योगहरूको पुर्नरूत्थानको लागि सरल र सुलभ व्याज दरमा ऋण उपलव्ध गराउनका साथै ऋणको भाका बढाउनु पर्ने र तीन वर्षसम्मको लागि आय कर पूर्णरूपमा छुटको व्यवस्था गर्नु पर्ने, नेपालले सन् २०२६ मा विकाशसील मुलुकमा स्तरोन्नती भएपश्चात निर्यातमा प्राप्त गर्दै आएको अल्पविकसित मुलुकको सुविधा नपाउने हुँदा हाम्रो प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि प्रतिस्पर्धी क्षमता बढाउनका लागि प्रभावकारी कार्यक्रमहरू ल्याउनु पर्नेमा महासंघको जोड छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को प्रथम महिनामा नेपालबाट कूल २० अर्ब ७६ करोड ५१ लाखको वस्तु निर्यात भयो भने सोही अवधिमा अघिल्लो आवमा ९ अर्ब ६२ करोडको निर्यात भएको थियो । यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा महासंघको जोड छ ।karobardaily

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार