प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताउनुभएको छ । उहाँले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताउनुभयो । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताउनुभयो ।

हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उहाँले आपत्तिजनक बताउनुभयो। आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताउनुभयो । ‘यो त संस्थामाथिको हमला हो,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’

उहाँले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो बजेटको व्यवस्थापन कसले गरेको रु तपाईहरु (सांसदहरु) ले बजेट पास गरेको होइन र रु मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन ।’ उहाँले प्रदेशसभा सदस्यहरु नै आफ्नो लागि न्यायाधीश हुने बताउनुभयो ।

संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने सुरु देखिको खेल अन्तर्गत प्रदेश २ लाई नै बारम्बार निशाना बनाउँदै आएको उहाँको भनाइ थियो । आफ्नो नेतृत्वको सरकारले संघीयतालाई संस्थागत गर्न सुरुदेखि नै दह्रो खुट्टा टेक्ने प्रयास गरेको उहाँले बताउनुभयो। सात प्रदेशमध्ये कुनै पनि प्रदेशले आँट नगर्दा प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याएको उहाँले बताउनुभयो । प्रदेश निजामती सेवा ऐन लगायत संघीयता अन्तर्गतका ऐन कानुन निर्माणमा सरकारले उल्लेखनीय काम गरेको उहाँले प्रस्ट पार्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार