ओलीको प्रस्तावः भीम, सुवास र विष्णु उपाध्यक्षमा बसिदिनुस्

काठमाडौँ । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गर्नुभएको छ ।

बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका बीच ओली आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहनुभएको छ । भेटका क्रममा उहाँले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहनुभएको छ। तर अहिलेसम्म रावलसँग ओलीले संवाद गर्नुभएको छैन्।

ओलीलाई लाइनमा गएर नभेट्ने अडान राख्दै रावल भेट्न नजानुभएको हो। रावल निकट एक नेताका अनुसार ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले भने चुनावी प्रचार थाल्नुभएको छ । आफ्नै टिम मिलाउन सकस परिरहेका वेला ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिनुभएको छ ।

राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गरे पनि सो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाबमा ओली हुनुहुन्छ ।

दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि सो समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताउनुभयो । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट गरे फर्कनुभएको छ । सहमति नभएसम्म बन्दसत्र हलमा नजाने अडानमा रहेका ओलीका कारण कतिपय प्रतिनिधि भने अधिवेशन लम्बिने चिन्तामा हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार