कांग्रेस रूपान्तरणको लागि पौडेलको दस बुँदे अवधारणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ७० वर्ष लामो संघर्षबाट मुलुकमा व्यवस्थाको टुंगो लागे पनि राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण नहुँदा त्यसमाथि नै प्रश्न उठ्न थालेको बताउनुभयो। पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै गरेका बेला आइतबार कांग्रेस रूपान्तरणका दश सूत्र सार्वजनिक गर्दै पौडेलले पार्टीहरूको लोकतान्त्रिककरण अहिलेको आवश्यकता भएको दाबी गर्नुभयो।

महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुनरसिंह केसीसहितका नेताको उपस्थित कार्यक्रममा पौडेलले आन्तरिक लोकतन्त्रका लागि लड्नुपर्ने समय आएको बताउनुभयो। राजनीतिक दलहरूलाई लोकतान्त्रिककरण गरेर जनताको अधिकारको रक्षा गर्ने पहरेदारको बनाउनु पर्ने जिकिर गर्दै पौडेलले राजनीतिक दलको सदस्य भएबापत विशेष सुविधा पाउने परिपार्टीको अन्त्य हुनुपर्ने दाबी गर्नुभयो।

‘दलविनाको लोकतन्त्रक कल्पना गर्न सकिंदैन। तर दलको सदस्य भएपछि विशेष सुविधा पाउने अझ सत्ता केन्द्र र गुटको नजिक हुने अवस्थाले निमुख जनता पिसिएको अवस्थामा छन्,’ पौडेलले भन्नुभयो, ‘निमुखाले न्याय र अधिकार पाउनु हुनुपर्छ।’

कार्यकारीलाई जस्तो लाग्यो विधि र पद्धती त्यस्तै बनाउने गरेको आरोप लगाउँदै पौडेलले भन्नुभयो, ‘पार्टी र देश नेताले होइन नीतिले चल्नुपर्छ। म त्यसकै पक्षमा छु।’ नेता बलियो हुने तर पार्टी कमजोर हुने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्दै उहाँले कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत बनाउन आग्रह गर्नुभएको छ।

गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने रु पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने भन्ने प्रश्न उठेको पौडेलको अवधारणामा उल्लेख गरिएको छ। ‘आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ?  आज बुद्धिजीवीहरूले प्रश्न उठाइरहेका छन्,’पौडेलको अवधारणामा भनिएको छ, ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ। नेता बलिया, पार्टी कमजोर अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन।’

देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरूको हो भन्दै उहाँले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास असम्भव रहेको जनाउनुभएको छ । अबको महाधिवेशनले आफ्ना नेताहरूको आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता रहेको उहाँले औल्याउनुभएको छ ।

अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भए पनि नेपाली कांग्रेसका आदर्श, मूल्य र मान्यता अनुरूप सरकारमा उपस्थिति जनाउन नसकेको पनि पौडेलले जनाउनुभएको छ । ‘कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नुपर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन,’ उहाँले लेख्नुभएको छ, ‘लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ।’

सभापति शेरबहादुर देउवाप्रति रूष्ट नेता पौडेलले पार्टी नेतृत्वले पटकपटक विधान मिचेको आरोप लगाउनुभयो। व्यवस्थाहरूको ठाडो उल्लंघन गर्नुको साथै जनअपेक्षामाथि कुठाराघात गरेको आरोप लगाउँदै पौडेलले भातृसंस्था भताभुङ्ग बनाएको उल्लेख गर्नुभएको छ । विभाग र प्रतिष्ठानमा मनपरितन्त्र गरेको भन्दै भनिएको छ, ‘स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ।

पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्तालाई पाखा लगाइएको छ। नीतिनियम र विधानविपरित हजारौं चिठी काटिएका छन्।’ विधानको मर्यादामा रहेर न्याय,निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत गर्नुपर्नमा जोड दिँदै विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको छ। राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँनु पर्नेमा जोड दिएका पौडेलले राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गर्ने जनाउनुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार