ओमिक्रोनका कारण जापानले सबै विदेशी यात्रुमाथि रोक लगायो

एजेन्सी । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताउनुभयो । ‘जापानमा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका लागि पूर्वसावधानी स्वरुप यो कदम चालेका हौं,’ किशिदाले भन्नुभयो । मंगलबारदेखि विदेशी यात्रुलाई प्रवेशमा रोक लगाइने उहाँको भनाइ थियो ।

त्यस्तै, किशिदाले मानिसहरूलाई नयाँ ओमिक्रोन भेरियन्टबारे थप विवरण नआइन्जेलसम्म मास्क लगाउन र भाइरसविरुद्धका अन्य आधारभूत नियम निरन्तर पालना गर्न समेत आह्वान गर्नुभएको छ । यसै महिनाको सुरुमा जापानले आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै छोटो समयका लागि व्यापारी, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिने बताएको थियो । तर पछिल्लो निर्णयसँगै सीमानामा पुनस् कडाइ हुने भएको छ ।

नयाँ कोरोना भेरियन्ट फैलिन थालेपछि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेपछि जापानले पछिल्लो निर्णय लिएको हो ।यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ । बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार