पूर्वप्रधानाध्यापक र लेखापालविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । भ्रष्टाचार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा यशोधरा गाउँपालिका–५, बैदौलीस्थित अनिरूद्र पब्लिक माध्यामिक विद्यालय कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

उनीहरूले ७ लाख ८२ हजार ६५१ रुपैयाँ भ्रष्टाचार गरी सार्वजनिक सम्पत्तीमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । त्रिपाठीले आर्थिक वर्ष २०७४/०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो।

उजुरी अनुसार अनुसन्धान गर्दा उनी र लेखापाल यादवले मिलेर विद्यालयको कोषबाट रकम निकालेर निर्माणमा खर्च नगरी हिनामिना गरेको देखिएको प्रवक्ता रिजालले बताउनुभएको छ । हिनामिना गरेको देखिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिना कैद र ७ लाख ८२ हजार ६५१ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार