एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित

सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उहाँका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित हुनुभएको हो । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो । अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आउनुभएको छ । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बन्नुभएको थियो । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गर्नुभएको थियो । अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गर्नुभएको थियो ।

बन्दसत्रले नै उहाँलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो । त्यहीअनुसार ओ‌लीले सूची पनि बनाउनुभएके थियो । तर उहाँको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिनुभएको थियो । नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुनुहुन्छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले भोट हालेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार