
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका उपदेश तथा शिक्षालाई आ–आफ्नो पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्ताकालय भवनको समुद्घाटन कार्यक्रमलाई आज लुम्बिनीमा सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो आग्रह गर्नुभएको हो।
राष्ट्रपति भण्डारीले एशिया महाद्धीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरी फैलिरहेको र विश्वका प्रतिष्ठित विश्विद्यालयहरुले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रुपमा समावेश गर्दै गएको उल्लेख गर्नुभयो।
बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्नसके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले हाम्रो मुलुकबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
बौद्ध विश्वविद्यालयले लिएको आफ्नो लक्ष्य र उदेश्यलाई उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले बुद्धद्वारा प्रवर्तित सामूहिकता र मानव प्रेमको भावना जागृत गराउनसके समाजमा विद्यमान स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्ने उल्लेख गर्दै बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्नरूपले जोडिएको प्रसंग उल्लेख गर्नुभयो । नागरिक खबरबाट