काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमेत हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ शुक्रबारका दिन स्थगित गरिएको छ ।’ प्रदेश २ को महोत्तरी र सर्लाहीमा काँग्रेसले अहिलेसम्म वडा अधिवेशन तथा पालिका अधिवेशनसम्म गर्न सकेको छैन । त्यसैले पनि प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको नेताहरु बताउँछन् ।
प्रदेश अधिवेशनमा पालिकाबाट महाधिवेशन प्रतिनिधिहरुको नाम नआउन्जेलसम्म समस्या उत्पन्न भएकाले तत्कालका लागि स्थगित गर्नुपरेको प्रदेश उपसभापतिका उम्मेदवार प्रफुल्लराज घिमिरेले बताउनुभयो । उहाँले सबै वडा र पालिकाबाट प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम आएपछि प्रदेश अधिवेशनको निर्वाचन सत्र सुरु हुने स्पष्ट पार्नुभयो । रातोपाटीबाट