काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ । यसका लागि माओवादी केन्द्रले देशभरका वडा र पालिकामा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिसकेको छ ।
बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा र पालिका सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो । तर, केही पालिकामा सम्मेलन स्थगित भएकामा त्यो पनि एक दुई दिनभित्रमै सम्पन्न हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलनको आयोजना गर्दैछ । मंसिर २५ गते हुने सम्मेलनको अध्यक्ष प्रचण्डले भर्चुअल मार्फत उद्घाटन गर्ने कार्यक्रम छ ।यस्तै महराले पार्टी सदस्यता संख्या ७ लाख ६ हजार ५ सय पुगेको बताए । कतिपय सदस्यको इन्ट्री हुन बाँकी रहेकाले सदस्यता संख्या ८ लाख पुग्ने महाराले दाबी गरे । यस्तै पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौको प्रज्ञा भवनमा गर्ने भएको छ ।
पार्टीको बिधान परिमार्जनका लािग उपसमिति गठन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।उपसमितिमा देव गुरुङ, पम्फा भुषाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उपसमितिलाई मंसिर २५ गतेभित्र मस्यौदा तयार गर्ने जिम्मा दिइएको माओवादी प्रवक्ता महराले जानकारी दिए ।
त्यस्तै बैठकले प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागि हुने गरी कार्यविधि तय गरेको छ । भने महाधिवेशनमा सहभागि प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता महराले जानकारी दिए । बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमिति, प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत बैठकले गठन गर्दै स्वाथ्य र स्वयंसेवक उपसमिति पनि बनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता महराले बताए । बैठकमा हेरक प्रदेशका कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको प्रवक्ता महराले बताए ।
अबको महासचिव को ?
माओवादी केन्द्रले पार्टीका केन्द्रीय पदाधिकारी टुंगो लगाउन देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पाँच सदस्यीय समितिले पार्टी केन्द्रको पदाधिकारी कति सदस्यीय हुने भन्ने विषयमा खाका प्रस्तुत गर्नेछ ।
माओवादीको आगामी राष्ट्रिय सम्मेलनबाट पनि माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दाहोरिने सम्भावना छ । महासचिव पदका लागि भने धेरै नेताहरु आकांक्षी रहेका छन् ।
जसमा वर्षमान पुन, कृष्ण बहादुर महरा, पम्फा भुसाल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, देव गुरुङ, गिरिराजमणि पोखरेल, लगायत नेताहरु आकांक्षी रहेको बुझिन्छ ।
माओवादी केन्द्रको प्रदेश र पालिकामा अध्यक्षसहित सात सदस्यीय पदाधिकारी बनाउने विधानमा व्यवस्था छ । जसमा अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, एक जना सहसचिव र एक जना कोषाध्यक्ष हुनेछन् ।
माओवादी केन्द्रले प्रदेश कमिटीमा सात सदस्यीय पदाधिकारीसहित बढीमा १ सय ७५ जना सदस्य हुनेछन् । पालिकामा सात पदाधिकारीसहित महानगरमा ९९ सदस्य, उपमहानगरमा ८१ सदस्य, नगरपालिकामा ६५ सदस्य र गाउँपालिकामा ५५ सदस्य छन् ।
त्यस्तै वडामा अध्यक्षसहित पाँच सदस्यीय समिति हुने व्यवस्था गरेको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष मात्रै छन् । वडामा बढीमा १९ सदस्यीय समिति हुनेछन् । टोल समितिमा अध्यक्ष र सचिव पदाधिकारीसहित १५ सदस्य छन् । सेल समितिमा सचिव मात्रै पदाधिकारी व्यवस्था गरेको छ । सचिवको नेतृत्वमा १० जनासम्म राखेर बनाउने माओवादीको विधानमा उल्लेख छ । नागरिक खबरबाट