
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गर्नुभएको छ । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उहाँले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गर्नुभएको हो ।
राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा थियो भने कमल थापाको कार्यकक्ष धुम्बाराहीमा थियो ।
लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उहाँको कोठा प्रयोग नगरेको लिङ्देनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमल थापाका लागि त्यो कुर्सि सुरक्षित राखिएको छ । त्यो कुर्सिमा बस्न म चाहेर अध्यक्ष बनेको होइन ।’
उहाँले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त पनि गर्नुभएको छ । अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताउनुभएको थियो । त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भन्नुभयो, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’ अनलाइनखबरबाट