काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले माल्दिभ्स र नेपालले मिलेर काम गर्न सक्ने बताउनुभएको छ । नेपालका लागि माल्दिभ्सका गैर आवासीय राजदूत डा-हुसैन नियाजसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री खतिवडाले नेपाल र माल्दिभसबीचको सम्बन्ध निकै पुरानो भएको बताउँदै व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा दुवै देशले आपसी हितका लागि मिलेर काम गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र माल्दिभ्स दुवै आकर्षक पर्यटकीय गन्तव्य हुन्। दुई देशको हितका लागि संयुक्त प्याकेज र प्रचारप्रसारलगायतका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन सकिन्छ ।’
मन्त्री खतिवडाले माल्दिभ्स सरकारबाट नेपाललाई १ लाख ५० हजार डोज एस्ट्राजेनेका खोपको सहयोग प्रस्ताव प्राप्त भएको बताउनुभयो। विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तनमा नेपाल र माल्दिभ्सको भूमिका नगन्य भएपनि दुवै देशले यसबाट सिर्जित प्रतिकूल प्रभावहरुको सामना गरिरहेको दाबी गर्दै यस सन्दर्भमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि गरिने दुई देशबीचका प्रयासहरूलाई आर्थिक र प्राविधिक सहयोग जुटाउनका सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । रातोपाटीबाट